१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पब्लिक युथ क्याम्पस धोबीचौरकाे शौचालय नाक थुनेर हेर्नुहाेस


३० भाद्र २०७६, सोमबार  

0
Shares

स्नातकोत्तर तह अन्तर्गत व्यवस्थापन संकाय (एमबीएस) पहिलो सेमेस्टरको परीक्षा दिन पाटन संयुक्त क्याम्पसबाट पब्लिक युथ क्याम्पस धोबीचौर पुगेकी एक परीक्षार्थी दोस्रो दिनको परीक्षा शुरू हुनुअघि पिसाब लागेपछि क्याम्पस परिसरमा रहेको शौचालयमा छिरिन् ।

शौचालय यति दुर्गन्धित थियो कि भित्र छिर्ने बित्तिकै उनलाई बान्ता हुन थाल्यो ।

‘लगातार ५ मिनेटसम्म बान्ता भयो । भाउन्न भएर आयो । टाउको दुख्न थाल्यो । परीक्षा हलमा प्रवेश गरेपछि पनि १० मिनेटसम्म त हम्किएरै बसें,’ नाम नबताउने शर्तमा उनले भनिन्, ‘प्रश्नपत्र त सहज नै थियो तर एकदमै टाउको दुखेकाले ६५ नम्बरको मात्र हल गर्न भ्याएँ ।’ त्यो दिनको परीक्षा उनले बिर्सिन सकेकी छैनन् ।

‘मेरो आफ्नो विशेष अवस्थाका कारण लामो समय पिसाब रोक्न समस्या हुन्छ । बिहान साढे ९ बजे खाना खाएर ललितपुरबाट हिँडेपछि १२ देखि ४ बजेको परीक्षा सकिने बेलासम्म शौचालय नगई बस्नै सकिन्न, सोही कारण २ वटा विषयको परीक्षा नै छाडें,’ उनले गुनासो गरिन् ।

त्यसपछि उनी एक विषयको परीक्षामा सहभागी भइन् तर परीक्षा हलमा प्रवेश गर्नुअघि र सकिएपछि क्याम्पस बाहिरको शौचालय प्रयोग गरिन् ।
क्याम्पसको शौचालय निकै फोहोर हुँदा सयौं विद्यार्थी प्रभावित हुने गरेकोमध्ये उनी एक प्रतिनिधि पात्र हुन् । कलेजमा हुने शौचालयको दुरावस्थाले विद्यार्थीलाई अप्ठ्यारो हुने गरेको छ ।

पब्लिक युथ क्याम्पसका स्नातक तहमा अध्ययनरत अमित महरले शौचालय सफा गर्नेतिर क्याम्पसले ध्यान नदिएको गुनासो गरे । महर पब्लिक युथ क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष हुन्  ।

‘म क्याम्पसमा आएको १३ वर्ष भयो तर कलेज प्रशासनले कहिल्यै ट्वाइलेट सफा गर्ने कुरामा ध्यान दिएको देखिनँ,’ उनले भने ।

शौचालय सफा गर्न राखिएका कर्मचारीले काम नगर्दा पनि कलेज प्रशासनले कर्मचारीलाई केही भन्ने नगरेको विद्यार्थी महरले गुनासो गरे । कलेज प्रशासनले सफा गर्ने ५ जना राखेको छ । ‘सफाइ कर्मचारी १ दिन आएर हप्ताभरिको हाजिरी गरेर घर फर्किने गरेका छन्,’ उनले भने, ‘कर्मचारी आएको १ दिन पनि पानी मात्र हालेर हिँड्छन्, हार्पिकले सफा गर्‍यो भने त सफा भइहाल्छ नि !’

विद्यार्थीले नै कति दिन त कलेज नआउने कर्मचारीको हाजिरी पुस्तिकामा अनुपस्थित भनेर पनि लेखिदिए तर पनि कर्मचारीलाई फरक नपरेको महर सम्झन्छन् । ‘शौचालय पनि पुरानो, शौचालयमा पानी राम्रोसँग पास नहुने र विद्यार्थीले पनि राम्रोसँग पानी हाल्दैनन्,’ उनले भने, ‘दिशा लाग्यो भने घर जानुपर्ने बाध्यता छ, यसरी कहिलेसम्म सकिन्छ र ?’

सरसफाईको हिसाबमा क्याम्पस धेरै नै नाजुक रहेको क्याम्पसमा अध्ययनरत समाजवादी पार्टी नेपाल निकटको विद्यार्थी संगठनका नेता इन्द्र सिलवालले बताए । ‘हामीले आफैं पनि सरसफाईका कार्यक्रम गर्‍यौं तर पढ्नु पनि पर्‍यो, सधै कसरी भ्याउनु ?’ उनले भने । सरसफाइ कर्मचारीले भनेको नमान्ने अर्का विद्यार्थी दिवाकर लोहनी बताउँछन् । ‘पहिलेको क्याम्पस चिफ हुँदा कलेजको अवस्था भद्रगोल थियो,’ लोहनीले भने, ‘तर नयाँ क्याम्पस चिफले केही सुधार गर्दै आउनुभएको छ । कलेज प्रशासनले नै कर्मचारीलाई काम लगाउन सकेको छैन ।’

स्नातक अन्तर्गत व्यवस्थापन संकाय (बीबीएस) पहिलो वर्षमा अध्ययन धादिङकी संगीता पडरियाले विद्यार्थीले पनि शौचालयमा जथाभावी फोहोर फाल्ने गरेको गुनासो गरिन् । ‘शौचालयका ढोका छैनन्, कुकुर आएर डस्टबिनको फोहोर पनि पोखिदिन्छ, सफा गर्ने कर्मचारीले सफा गरिदिँदैनन्,’ उनले भनिन् ।

‘प्रायः सरकारी कलेजहरुको अवस्था यस्तै छ, कलेजको फोहोर त हामीलाई साधारण जस्तै भइसक्यो’ पब्लिक युथ कलेजमा मास्टर तहको अध्ययन सकेका नेविसंघ निकट विद्यार्थी सुमन घिमिरेले भने ।
क्याम्पस प्रमुख बलराम थापाले विद्यार्थीका गुनासा जायज भएको भन्दै सुधारको प्रयास भइरहेको बताए । ‘म यहाँ आएको १५ दिन भयो, मैले निरीक्षण गर्दा म नाक थुनेर भित्र पसें,’ उनले भने, ‘अबको २ महिनामा शौचालयको समस्या समाधान हुन्छ ।’

लाेकान्तरबाट

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  २ : ५० बजे