काठमाडाैं । ललितपुरमा कार्यरत प्रहरी नायव निरिक्षक(सई), प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवान निलम्बनमा परेका छन् ।
निलम्बनमा पर्नेमा महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत सई यज्ञबहादुुर भट्टराई, सामुदायिक प्रहरी सेवा केन्द्र सानेपामा कार्यरत (असई) मदन सी खाती र महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष सिआरभीमा कार्यरत प्रहरी जवान लक्ष्मीदत्त भट्ट रहेका छन् ।
सई भट्टराई केही हप्ताअघि मंगलबजार क्षेत्रमा रेष्टुरेन्ट व्यवसायीसँग रकम असुली तथा प्रहरी हिरासतमा बसेका थुनुवासँग पैसाको बाग्रेनिङ गरेको अभियोगमा निलम्बनमा परेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।
सई भट्टराईलाई भदौ २२ गते प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र सानेपामा कार्यरत असई सी खाती गत भदौ १४ गते मादक पदार्थ सेवन गरी सरकारी मोटरसाइकल चलाएर होहल्ला गरेको अभियोगमा निलम्बनमा परेका एसएसपी राईले जानकारी दिए ।
असई सी खातीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भदौ २० गते निलम्बन गरेको हो ।
त्यस्तै, महानगरी प्रहरी परिचालन कक्षमा कार्यरत प्रहरी जवान भट्ट पनि मापासे गरी होहल्ला गरेको अभियोगमा निलम्बनमा परेका हुन् । भट्टलाई महानगरीय प्रहरी परिसर ललितपुरले भदौ २९ गते निलम्बन गरेको हो ।
निलम्बनमा परेका तीनै जनालाई प्रचलित कानुनअनुसार कारबाही गर्न चार सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया