३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१ सय २२ चिनियाँ नागरिक देश निकाला, चार वर्ष नेपालमा प्रतिबन्ध


२३ पुस २०७६, बुधबार  

0
Shares

देश निकाला गरिएका चिनिया नागरिक लजान तयारी अवस्थामा चाइना साउथ इश्टर्न विमान ।

२३ पुस ०७६, काठमाडौं । पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई चार वर्ष नेपालमा प्रवेश गर्न नपाउने गरी आज निष्कासन गरिएको छ । अध्यागमन विभागका अध्यागमन अधिकृत पवन गुप्ताले उनीहरुलाई आज साँझ ६ र ७ बजेको चिनियाँ विमानमार्फत फिर्ता पठाइएको जानकारी दिनुभयो । एउटा विमानमा ४२ र अर्काेमा ८० जना राखेर विमान चीन उडेको छ ।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले नेपाल बसेर चीनमा अवैध गतिविधि सञ्चालन गरेका थिए । पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रजिअ जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो जरिवाना चिनियाँ दूतावासले तिरिदिएको छ ।
विभागका अर्का अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले उनीहरुलाई चार वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी फिर्ता पठाइएको जानकारी दिनुभयो । अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्य्विधि २०६५ मा टेकेर सो निर्णय गरिएको उहाँले बताउनुभयो । ऐनमा कसुरको प्रकृतिअनुसार रु ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ४४ बजे