लपु संवाददाता
२ माघ ०७६, ललितपुर । ठेचो चापागाँउ सडकखण्ड कालोपत्र भएपछि सडक छेउछाउमा घर टहरा बन्न थालेका छन् । केही दिनअघि ठेचो बुद्ध पोखरी आसपास सरकारले तोकेको मापदण्डविपरित घर टहरा बन्न थालेका हुन् ।
२०७२को भुकम्पले भत्काएको घरको भग्नावशेष लामो समयसम्म अलपत्र परेपछि स्थानीयले बनाउन थालेका हुन् ।
घर बनाइरहेका ठेचोका सुरेश महर्जन सरकारले २५ बर्षअघि माइतीघर मण्डला बनाउदा दिएको जसरी मुआव्जा दिनु पर्ने बताउनु हुन्छ । भन्नुहुन्छ,‘हाम्रो अर्को घर छैन । हामी कहाँ बस्न जाने ? जग्गा किन्न आनाको ५० लाख लाग्छ । घरकोभन्दा जग्गाको माया लाग्छ ।’
‘खानलाई पैसा छैन । घर जग्गा गयो भने हामी के गर्ने ? ’ महर्जन प्रश्न गर्नुहुन्छ । नख्खु कोरिडोर बनाउदा महर्जनको १ रोपनी जग्गा परे पनि सहेको फेरि सरकारले आफ्नो जग्गा दिन लागेको भन्दै महर्जन दुखेसो पोख्नुहुन्छ ।
ठेचोकै तुलसीगोविन्द महर्जनले पनि भुकम्पले भत्केको घरमा जस्ताको टहरो बनाइरहेका छन् ।
पुर्वगाविस अध्यक्ष समेत रहेका महर्जन सरकारले मुआव्जा दिए घर तुरुन्त भत्काएर खाली गराउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,भुकम्पले क्षतविक्षत घर सडकअगाडि धरापजस्तै थियो । छिमेकीले घराप नराख्न अनुरोध गरेपछि टहरो हालेको हुँ ।’
गोदावरी नगरपालिका १२ का वडाध्यक्ष जगतबहादुर महर्जनले सडक आपपास बनिरहेको घर रोक्न खोज्दा आफ्नो लालपुर्जा भएको जग्गामा घर बनाएको भनेर घरधनीले फर्काएको बताउनु भयो । उहाँले भन्नु भयो,मुआव्जासम्बन्धि अदालतमा मुद्दा परेको र मुआव्जा पाए आजै घरधनीले घर भत्काउने जवाफ दिएका छन् ।’
प्रदेश सासंद चेतनाथ सञ्जेल भने ढोलाहिटीबाट लेलेसम्मै सडक विस्तार शुरु हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कालोपत्रे सकिएपछि सडक विस्तारको योजना बनाउनेछौं ।’ सांसद सञ्जेलका अनुसार जनताको घरको मुआव्जा दिइनेछ । घर जग्गा सबैं घरधनीले दुबैको मुआव्जा पाउछन् ।
वडाध्यक्ष महर्जन सडक विस्तारको समस्या सरकारले उव्जाएको कारण अहिले समस्या आएको बताउनुहुन्छ । २०३३ सालमा सडकमापदण्ड बनाउदा सडक वरपरको जग्गाको लगत कट्टा गरेर नक्सामा जनाएको भए यो समस्या नआउने तर्क छ । ‘त्यो जग्गाको स्थानीयबासीले अझै कर तिरिरहेका छन् । त्यसैले सरकारले जनतालाई उचित मुआव्जा दिएर सडक विस्तार गर्नुपर्छ ।’ महर्जन भन्नुहुन्छ ।’
प्रतिक्रिया