१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नाफा बढेपछि पेट्रोलियम पदार्थको मूल्य यथावत


३ माघ २०७६, शुक्रबार  

0
Shares


३ माघ ०७६,काठमाडौं । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलमा केही मूल्य वृद्धि भएर आएको भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर रु तीन, डिजेलमा रु चार, हवाई इन्धनमा रु १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १६२ घाटामा रहेको छ । कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा करीब रु आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको थियो ।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि, २०७१’ बमोजिम प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । निगमको स्वर्ण जयन्तीका अवसरमा सर्वसाधारणलाई पेट्रोलियम पदार्थमा केही सहुलियत दिने उद्देश्यले इन्धनको मूल्य समायोजन नगरिएको उहाँले बताउनुभयो । निगमले गत पुस २६ गते स्वर्ण जयन्ती मनाएको थियो ।
आइओसीले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई नयाँ बिक्री मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ । निगमले पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु १००, अन्तर्रा्ष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० बिक्री मूल्य तोकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ४० बजे