९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साँझ परेपछि राजधानीमा पाइदैन गाडी


४ माघ २०७६, शनिबार  

0
Shares


४ माघ ०७६, काठमाडौं । बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो ।
सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन । शुक्रबार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रामप्रसाद न्यौपाने घर जान पाउनुभएन ।
निजी व्यापारिक प्रतिष्ठानमा बेलुकी पाँच बजेसम्म काम गरेर पुरानो बसपार्क पुग्नुभएका न्यौपानेजस्ता हजारौँ राजधानीवासी बेलुकी समस्यामा पर्ने गरेका छन् । एकाधिकार हट्यो भनिएपनि झन सवारी पाउन मुश्किल भएको गुनासो उनीहरुको रहेको छ । पानी परेका दिन, बिदाका दिन, राजधानीमा विशिष्ट व्यक्तिको सवारी परेका दिन प्रायः बेलुकी राजधानीमा सवारी पाउन समस्या पर्छ । पहिले बेलुकी निश्चित मार्गका सवारी निश्चित समयसम्म पाइन्थ्यो ।
यातायात समिति क्रियाशील रहुञ्जेल बेलुकी साँढे सात बजेसम्म पाइने साँखुमा चल्ने सवारी आजभोलि नियमित छैन । कहिले त पाँच बजेपछि साँखु जाने सवारी नपाइने गरेको यात्रु शुक्रमाया श्रेष्ठले बताउनुभयो । साँखुमा पुरानो साँखु बस व्यवसायी सङ्घको एकाधिकार तोडिएपछि हाल बाबा गोकर्णेश्वर नामका यातायात सञ्चालनमा रहेका छन् । यसैगरी राजधानीका आलापोट, गागलफेदी, मूलपानी, सुन्दरीजल, ललितपुर र भक्तपुरका काठ क्षेत्रमा जाने सवारी पनि पाउन मुस्किल हुने गरेको छ ।

दक्षिणकाली, बनेपा, धुलिखेल, पनौतीलगायत स्थान जाने सवारी बेलुका आठ बजेसम्म नै नियमित गुडिरहेका हुन्छन् । सरकारले विसं २०६८ मा रात्रि बस सेवा शुरु गरेको थियो । तर त्यो पनि नियमित हुन सकेन । स्थानीय तहमा आफ्नो क्षेत्रमा सार्वजनिक यातायातको व्यवस्थापन गर्न सक्ने अधिकार रहेको छ । तर हालसम्म धेरैले केही गरेका छैनन् ।
नेपाल भ्रमण वर्ष शुरु भएको छ । राजधानीकै पर्यटकीय गन्तव्यमा जाने सार्वजनिक यातायात थोत्रा छन् । पानी परेका बेला बसभित्रै पानी छिरेर बस्न नसकिने अवस्थाका सवारी पनि निर्वाध सडकमा गुडिरहेका छन् । कति सवारीमा फुटेका सिसासमेत देख्न सकिन्छ । यसतर्फ अनुगमन भएको देखिदैन ।
रत्नपार्कबाट सुन्दरीजल मार्गमा चल्ने बा ३ ख १३१७ र बा ३ ख १७७ नं सिटी यातायातको सवारीमा पाँच महिनाभन्दा लामो समयदेखि झ्यालको सिसा नरहेको यात्रु रामचन्द्र खतिवडाको गुनासो छ । पुस र माघको चिसोमा सिसा नभएको सवारीमा यात्रा गर्नुपर्दा ठण्डीले बिरामी भएर तीन दिनसम्म घरमा आराम गर्नुपरेको उहाँले सुनाउनुभयो ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा केही ठूला बस किनेपनि पर्याप्त छैन । यसैगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाले सार्वजनिक यातायातमा केही लगानी गरेका छन् । नगरपालिकाले ध्यान दिएका स्थानमा सहज रुपमा सवारी पाउने गरेको यात्रुले जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ३५ बजे