पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ ।े पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक÷दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।
सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भन्नुभयो ।
मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ ।
तराईका भूभागमा बाक्लो हुस्सु÷कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ । राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ । बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । मंगलबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियसमा झरेको छ ।
प्रतिक्रिया