९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा निजी आवास पुनःनिर्माणमा गिम्दी अब्बल


१९ माघ २०७६, आइतबार  

0
Shares

सुभानु आचार्य

१९ माघ ०७६ ललितपुर । ललितपुर जिल्लामा रहेका ७१ वडामध्ये निजी आवास पुनःनिर्माणमा वाग्मती गाउँपालिका –७ गिम्दी अब्बल रहेको छ । विसं २०७२ को भूकम्पले यस गाउँपालिकाभित्र पारेको चुनौतीलाई समाधान गर्न पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अघि बढाउँदा गिम्दी अन्य वडाभन्दा सर्वोत्कृष्ट हुन सफल भएको हो ।

त्यस्तैगरि लगनखेल चोकबाट सो वडा पुग्न भौगोलिक कारणले निकै विकट रहँदा आफूले वडाभित्रका घरघरमा गई सरकारले भूकम्प प्रभावित जनतालाई दिएको सहयोगबारे जानकारी प्रवाह गरी निजी आवास पुनःनिर्माणमा घच्घचाएको गिम्दीका वडाध्यक्ष नवराज सञ्जेलले जानकारी दिनुभयो। त्यस्तै वडामा रहेका ६१० निजी घर पुनःनिर्माण हुनुपर्नेमा ५२० भन्दाबढी घर निर्माण सम्पन्न भइसकेका छन् ।” सो वडाले जिल्ला आयोजना कार्यान्वय एकाइबाट ललितपुरमा रहेका अन्य वडाभन्दा पुनःनिर्माणमा उल्लेख्य सुधार र प्रतिशतमा उच्च नतिजा प्राप्त गर्ने शीर्षकमा सफल र सर्वोत्कृष्ट वडा को रुपमा पुरस्कार थाप्न सफल भएको सञ्जेलले जानकारी दिनुभयो ।

मुलुकमा भएको २०७४ वैशाख ३१ गतेको निर्वाचन र जेठ ४ गतेको शपथग्रहणपछि गाउँपालिकाको मुख्य चुनौतीका विषयमा रहेको निजी घर पुनःनिर्माण गराउन आफूहरुले टोलटोलमा सडक निर्माणको योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभित्रका आठदेखि १० घर रहेका क्षेत्रमा पनि सडक निर्माण गर्दा पुनःनिर्माणले छिट्टै गति लिन सफल भएको हो । ललितपुरमा रहेका छ वटा पालिकामध्ये हाम्रो गाउँपालिका निजी घर पुनःनिर्माणमा प्रथम हुन सफल भएको छ ।” सो गाउँपालिका ७० प्रतिशत निजी आवास पुनःनिर्माणमा सफल भएको लोप्चनले जानकारी दिनुभयो ।

त्यस्तै कार्यान्वयन एकाइले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाग्मतीमा निजी आवास पुनःनिर्माणमा पहिचान भएका लाभग्राही तीन हजार ३७०, सम्झौता सम्पन्न लाभग्राही तीन हजार १५२, प्रथम किस्ता लिने लाभग्राही तीन हजार १४७, दोस्रो किस्ता लिने लाभग्राही दुई हजार ७०८, तेस्रो किस्ता लिने लाभग्राही दुई हजार २८८ थिए । हालसम्म सो गाउँपालिकाभित्र पुनःनिर्माण सम्पन्न भएका घरको सङ्ख्या एक हजार ७०८ रहेको छ भने पुनःनिर्माण भइरहेका घरको सङ्ख्या २६३ रहेका छन् ।

उक्त गाउँपालिकाभित्र निजी आवास प्रवलीकरण गर्न दर्ता गर्ने लाभग्राही २५२ सम्झौता सम्पन्न गर्ने १९९ र प्रथम किस्ता लिने १९८ रहेका छन् । गाउँपालिकाभित्र जोखिममा परेका लाभग्राही ३७, सम्झौता सम्पन्न भएका ३२, प्रथम किस्ता लिने ३२, दोस्रो किस्ता लिने ३० र तेस्रो किस्ता लिने लाभग्राही २२ रहेको छ ।

वाग्मतीमा गुनासो दर्ता तथा फछ्र्यौट गर्ने लाभग्राही एक हजार ४१०, गुनासो सम्बोधनबाट कायम भएका लाभग्राही पुनःनिर्माणमा ३३० तथा प्रबलीकरणमा २३५ गरी जम्मा ५६५ र निर्णय हुन बाँकी रहेका लाभग्राही ७४१ रहेका छन् । वाग्मतीमा जोखिमयुक्त बस्ती पहिचान तथा स्थानान्तरणतर्फ असुरक्षित बस्तीमा रहेका पाँच, लाभग्राही सङ्ख्या २०, जग्गा खरिद अनुदान लिइ जग्गा व्यवस्थापन गरेका लाभग्राहीको सङ्ख्या आठ र जग्गा खरिद अनुदानका लागि प्रक्रियामा रहेका लाभग्राहीको सङ्ख्या एक रहेको छ ।

गाउँपालिकामा भूमिहीन तथा सुकुम्बासी रहेका राष्ट्रिय पुनःनिर्माण प्राधीकरणबाट भूमिहीन लाभग्राही कायम भएको सङ्ख्या २० र जग्गा खरिद अनुदानका लागि प्रक्रियामा रहेका लाभग्राहीको सङ्ख्या १६ रहेका छन् । स्थानीय सरकारबाट सोही स्थानमा निजी आवास पुनःनिर्माण गरी अनुदान उपलब्ध गराउन सिफारिस भई आएका लाभग्राही सङ्ख्या १६ रहेका छन् । त्यस्तै गाउँपालिकाभित्र स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खैरेनी निम्न माध्यमिक विद्यालय तथा जनजागृति उच्च माध्यमिक विद्यालयको माटो सोर्ने र घुसेल वडा नं ५ मा खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेको ‘पुनःनिर्माणका चार वर्ष ललितपुर’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।

त्यस्तैगरी सामाजिक तथा वातावरणीय सुरक्षणअन्तर्गत गाउँपालिकामा सम्पन्न भएका आयोजना वडा नं २ माल्टामा गोगनधारी मूल मर्मत, वडा नं ५ इकुडोलमा चुँवारखोला गोठडाँडा ध्याम्पेसल्ला तथा वडा नं छ आश्राङमा भालुखोला खानेपानी आयोजना र सुधारिएको चुलोसम्बन्धी तालिम आदि सम्पन्न भइसकेका छन् ।

यस गाउँपालिकामा रहेका तीनवटा गुम्बालाई एक, दुई र तीन तहमा वर्गीकरण गरी दुई गुम्बा निर्माण सम्पन्न भइसकेका छन् भने चार र पाँच तह निधारण गरी अर्को एक गुम्बा पनि निर्माण भएको छ । यस गाउँपालिकाभित्र करीब १९ हजार जनसङ्ख्या रहेका छन् भने यहाँ बढी तामाङ जातिको बाहुल्यता रहेको छ ।

गत विसं २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि बेलाबेलामा आएका पराकम्पहरुका कारण ललितपुरमा १८५ जनाले ज्यान गुमाएका थिए भने २८ हजार ४८२ घर पूर्ण तथा एक हजार ३८२ घर आंशिकरुपमा क्षति भएका थिए । तीमध्ये तीन हजार ३४१ घर पुनःजाँच र सर्वेक्षणका क्रममा छन् । भूकम्पबाट २४ सरकारी भवन पूर्णरुपमा क्षति, १७१ सामुदायिक विद्यालय भवनका एक हजार ४८३ कोठा क्षतिग्रस्त, १४४ पुरातात्विक सम्पदा तथा १६ वटा गुम्बा र थुप्रै स्वास्थ्य संस्था पनि क्षति भएको थियो । राष्ट्रिय समाचार समिति

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : ०५ बजे