९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कागेश्वरी महोत्सव आयोजना हुने


२५ माघ २०७६, शनिबार  

0
Shares


२५ माघ ०७६,कागेश्वरी धाम । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पाँचौँ कागेश्वरी महोत्सव आगामी फागुन ५, ६ र ७ गते आयोजना हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
धामलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आर्थिक वर्ष २०७३÷७४ मा प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको सांसद कोषबाट रु पाँच लाखको लागतमा २२७ किलो अष्टधातुबाट कागको मूर्ति निर्माण गरिएको छ । यसलाई हालसम्म नेपालकै ठूलो कागको मूर्ति मानिन्छ ।
लिच्छवीकालीन गणेश मूर्ति र गुफा पनि यहाँको आकर्षणको केन्द्र हो । यहाँका धार्मिक एवम् पर्यटकीयस्थललाई चिनाउन २०७२ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते महोत्सव आयोजना गर्ने गरिएको छ ।
चतुःषष्ठी लिङ्गमध्येको ३४औँ लिङ्गका रुपमा समेत मानिने कागेश्वरीमा प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ कान पतन भएको कथा पुराणमा व्याख्या गरिएको छ ।
लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको कागको मूर्ति निर्माण भइरहेको प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिनुभयो । यो विश्वकै सबैभन्दा ठूलो कागको मूर्ति हुने जनाइएको छ । धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण यो स्थल प्राकृतिकरुपमा पनि आकर्षक छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरीबाट उपत्यकाको सुन्दर दृश्य देखिन्छ ।
महोत्सव सफल पार्न स्थानीय श्याम लामाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको कागेश्वरी मनोहरा नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिनुभयो । आगामी फागुन ५ गते सरसफाइ, ६ गते साहित्यिक महोत्सव र ७ गते विशेष समारोह आयोजना गरिनेछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ३८ बजे