२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पलाञ्चोक भगवतीलाई जग्गा खरीद गर्न अभियान


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

३ फाल्गुन ०७६, काभ्रे । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करीब तीन करोडमा जमिन खरीद गरिने भएको छ । नपाको बजेट, मन्दिर विकास कोषको रकम, महायज्ञ तथा व्यक्तिगत सहयोगबाट मन्दिरको उत्तरपूर्वको जमिन खरीद गर्न लागिएको हो ।

नगर कार्यालयले चालू आर्थिक वर्षमा रु ३० लाख रकम छुट्याएको छ । नगरप्रमुख महेश खरेलले शुक्रबार रु एक लाख आठ हजार सहयोग गर्ने घोषणा गरेका छन् । “जमिन पास गर्ने दिनसम्म यो रकममा थप्नेछु”, मन्दिरका संरक्षक रहेका खरेलले भने । विभिन्न व्यक्तिका नामको पाँच रोपनी पाँच आना जग्गा करीब रु तीन करोडमा खरीद गर्न लागिएको हो ।

https://www.youtube.com/@lalitkhabar

जग्गा खरीद गर्न आगामी चैत १८ गतेदेखि सप्ताह ज्ञान महायज्ञ गरिनेछ । शक्तिपीठका रूपमा मानिदै आएको मन्दिर परिसरमा गरिने यज्ञमा भक्तजन एवं दाताबाट करीब रु पाँच करोड सङ्कलन हुने अपेक्षा छ । उनले भने “रु १४ लाख प्रतिआनाको जग्गा रु तीन लाख हाराहारीमा लिने सहमति गरी बैना गरिएको छ, यो अभियानमा भक्तजनको सहयोग आवश्यक द्ध ।” मन्दिर विकास समितिले व्यक्तिगतरूपमा सहयोग गर्न अपिल गरेको छ ।

उक्त स्थानमा मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यको ११ आनासहितको जग्गा छ । बज्राचार्यले प्रतिआना रु तीन लाखमा मन्दिरलाई जग्गा दिने जनाएका छन् । नगरप्रमुख खरेलका अनुसार अन्य व्यक्तिले सोही हाराहारीमा जग्गा दिने सहमति भएको हो । उक्त जग्गा हाल मन्दिरका भक्तजनको सवारी साधन पार्किङस्थलको प्रयोग हुँदै आएको छ ।

उक्त जग्गामा मन्दिर विकास समितिले व्यवस्थित पार्किङ, सभाहल, विवाह तथा अन्य शुभकार्यका लागि भवन र व्यवस्थित शौचालय निर्माण गरिने योजना बनाएको छ । मन्दिर विकास कोषमा रु ४० लाख रहेको वडाध्यक्ष किरण श्रेष्ठले बताए । उनका अनुसार यसअघि पाँच रोपनी जग्गा रहेको मन्दिरका लागि विसं२०५२ मा थप १२ रोपनी खरीद गरिएको थियो ।

मन्दिर लिच्छविकालीन राजा मानदेवको रानी विजयश्वरीले ४७६ वर्षअघि निर्माण गर्न लगाएको मानिन्छ । विसं २०३२ मा तत्कालीन सरकारले मन्दिर जीर्णोद्वार गरेको थियो । अभिलेखअनुसार नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्नुअघि तत्कालीन पूर्व १ नं क्षेत्रअन्तर्गत २८ मौजामध्ये काभ्रे र पलाञ्चोक नामका दुई मौजाका गाउँ क्षेत्रलाई समेटेर काभ्रे जिल्ला स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।