१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

७ फाल्गुन, ०७६, काठमाडौं । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले  पशुपतिनाथ दर्शनमा आउनु हुने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट पशुपतिनाथमा आउने साधुको बिदाइमा दिइने सामग्री एकादशीका दिन बिहान सङ्कल्प गर्ने परम्परा छ । सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा समावेश गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । त्यस्तै सङ्कल्प गरिएको सामग्री मूलसाधुलाई दिने गरिएको छ ।

त्यस्तैगरी संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइस्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ । पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा छ । साधुको बिदाइ औँसीका दिन गरिन्छ । साधुसन्त आ–आफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्नुभएको छ । करिब तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइसक्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

आज बिहानदेखि नागाबाबा भने पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेको संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै नागाबाबा बस्न पाउने परम्परा समेत रहेकोछ ।

त्यस्तैगरी साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा प्राचीन कालदेखि रही आएको छ । यस बाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनु अघि संस्थानले सबै व्यवस्था गर्दै आएको छ ।

प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको छ । पशुपतिनाथ मूल मन्दिरभित्र रहेका नागाबाबा, गोरखनाथ, निर्मल अखडा, भष्मेश्वर घाटअघिको अखडा, राममन्दिरलगायत स्थानमा संस्थानका तर्फबाट आज बेलुकीदेखि धुनीका लागि दाउरा, खानाको व्यवस्था समेत गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

त्यस्तैगरी थापाथलीको गोरखनाथ, वैरागी, सन्यासी र उदासी अखडाका साधुसन्तलाई भने फागुन कृष्ण द्वादशी अर्थात् बिहीबारदेखि खाना र धुनीका लागि दाउराको व्यवस्था गरिन्छ । गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको बताइएको छ । राष्ट्रिय समाचार समिति

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : २० बजे