३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


त्रिपुरेश्वरमा सेनाले थाप्यो सुपथ मूल्यको पसल


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

 


नेपाली सेनाद्वारा सैनिक मुख्यालय परिसरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल ९क्यान्टिन० को उदघाटनपछि अवलोकन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तस्वीर ः रत्न श्रेष्ठ/रासस

१८ फागुन ०७६, काठमाडौं ।  नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा काठमाडौं त्रिपुरेश्वरस्थित सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिपुरेश्वरस्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ गर्नुभयो । उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।
बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन तथा सङ्गठनसँग पहुँच र प्रभावकारिता विस्तार गर्ने उद्देश्यले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । क्यान्टिनमा प्रारम्भमा रु तीन करोड मूल्य बराबरका सामग्री राखिएको जानकारी दिइयो ।
वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ । कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।
यसअघि सेनाले सञ्चालन गर्दैआएको सुन्धरास्थित बसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ । बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले उत्पादन गरेका सामानको बजारीकरणको लागि पनि अध्ययन भइरहेको सो अवसरमा जानकारी दिइयो ।
भारत, पाकिस्तान र बङ्गलादेशमा पनि कर छुटसहितको यस्ता खाले सुपथ मूल्यका पसल त्यहाँका सेनाले सञ्चालन गर्दैआएको बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ३२ बजे