११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोनाको उपचारका लागि मध्यपुरमा ‘आइसोलेसन वार्ड’ निर्माण


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

कार्यक्रममा सहभागीहरु

२२ फागुन ०७६, भक्तपुर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रति सचेत हुँदै नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ‘आइसोलेसन वार्ड’ निर्माण शुरु गरेको छ । भक्तपुरमा सरकारी र निजी गरी नौवटा अस्पताल रहेपनि पहिलो पटक नगरपालिकाको नेतृत्वमा सञ्चालित यो अस्पतालले आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।
मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका सिद्धिकाली क्षेत्रमा सञ्चालनमा रहेको उक्त अस्पतालमा आजबाट आइसोलेसन वार्ड निर्माण शुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल सञ्चालन समितिका अध्यक्ष रहनुभएका नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नेपालमा कोरोना भाइरस नभित्रियोस् भन्नेमा सचेतना अपनाइरहेका छौँ ।” एक साताभित्र आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेर तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो । नगरपालिकाले अस्पतालमा औषधिको अभाव नहुने गरी व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
एम्बुलेन्स हस्तान्तरण

नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले रु ३९ लाखमा खरिद गरेको उक्त एम्बुलेन्स नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा समस्या आउन थालेपछि त्यसलाई मर्मतका लागि पठाएर नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।
बिरामीलाई सुविधायुक्त एम्बुलेन्सको सहज पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले खरिद गरी हस्तान्तरण गरेको उहाँले बताउनुभयो । अस्पतालमा एउटा नयाँ र पुरानो गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा रहनेछन् । नगरप्रमुख श्रेष्ठले नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री नगरपालिका अस्पताललाई नगरपालिकाले वार्षिक रुपमा दिँदै आएको रु एक करोड अनुदानलाई थप गर्नुका साथै यहाँ बिरामीका लागि आवश्यक प्रविधि एवं पूर्वाधारको विकास गर्दै लगेको बताउनुभयो ।
दक्ष चिकित्सकको सेवा विस्तार गर्दै लगेपछि यो अस्पताल अहिले मध्यपुरथिमिको बासिन्दाका लागि मात्रै नभई सिन्धुपाल्चोक, रामेछाप, काभ्रेका बासिन्दाको उपचारका लागि सहज पहुँच पुग्न थालेको छ । यो अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ९ : २२ बजे