१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खाद्यान्नको मूल्यवृद्धि धेरै, अनुगमन कम


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

एक किराना पसल । तस्विर ः फाइल

पूर्णप्रसाद मिश्र
काठमाडौँ, २ जेठ (रासस) ः बन्दाबन्दी जारी रहँदा बजारमा खाद्य सामग्री लगायत अत्यावश्यक चीजबीजको मूल्य वृद्धि हुँदा बजार अनुगमन हुन सकेको छैन ।
उपत्यकाका काठ क्षेत्रमा बिहान बेलुका केही समय खुल्ने बजारमा पर्याप्त मात्रामा खाद्य सामग्री पाउन नसकिएको उपभोक्ताको गुनासो छ । स्थानीय तहमा अनुगमन समितिको व्यवस्था भएपनि प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा पाइने सामानमा पनि रु १० भन्दा माथि भाउ बढेको शङ्खरापुर नगरपालिकावासी चन्द्रप्रसाद पुडासैनीले गुनासो गर्नुभयो ।
बिहान बेलुका केही समयमात्र खुल्ने बजारमा उपभोक्ताको भीड लाग्छ । भीडका कारण रोगको सङ्क्रमण बढ्न सक्ने खतरा समेत रहेको उहाँको भनाई छ । गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पनि खाद्य सामग्रीको भाउ चैत पहिलो हप्ताभन्दा महङ्गो भएको छ । खाद्य सामग्रीको मूल्य होलसेलमै बढेको भन्दै खुद्रा व्यवसायीले पनि बढाएका हुन् ।
व्यवसायीले बढी मूल्य लिएपनि उपभोक्तालाई बिल भने दिँदैनन् । बन्दाबन्दीमा बिल पाइँदैन भनी व्यवसायीले टार्ने गरेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं। १ गागलफेदीका सुन्दरबहादुर तामाङले बताउनुभयो । नगर क्षेत्रमा अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक बिन्दु पुडासैनी सिम्खडा अनुगमनका क्रममा दाल, गेडागुडी जस्ता खाद्य सामग्रीमा पाँच प्रतिशतदेखि १० प्रतिशतसम्म भाउ बढेको भेटिएको जानकारी दिनुभयो । थोक बिक्रेताले नै भाउ बढाएको भन्दै नगर क्षेत्रका व्यवसायीले समेत बढी मूल्य लिएको पाइएको उहाँले सुनाउनुभयो ।
उपभोक्ता भने जनप्रतिनिधिले अनुगमन गरेपनि बढी मूल्य लिने, कृत्रिम अभाव गराउनेलाई चुनावमा मत नपाइने डरले कारबाही नगर्ने गरेको गुनासो गर्छन् । शङ्खरापुर नगरपालिका वडा नं।–१ का स्थानीयवासी पार्वती दङ्गाल कर्मचारीको नेतृत्वमा हुने बजार अनुगमन भने प्रलोभनका कारण प्रभावकारी नभएको बताउनुहुन्छ ।
शङ्खरापुर नगरपालिकाकी उपप्रमुख एवं अनुगमन समिति संयोजक शुक्रलक्ष्मी श्रेष्ठ नगर क्षेत्रको ग्रामीण भेगमा पर्याप्त मात्रामा अनुगमन गर्न नसकिएको स्वीकार्नुहुन्छ । व्यवसायीले भण्डारमै भएको सामानको भाउ समेत बढाएको पाइएको उहाँले जानकारी दिनुभयो ।
बिहान बेलुका खुल्ने भएकाले मूल्यसूची राख्न नसकिएको भन्दै व्यवसायीले बढी भाउ असुल्ने गरेका छन् । गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल अनुगमनका केही ठाउँमा बढी मूल्य लिएको भेटिएकाले अर्कोपटकदेखि बढी नलिने गरी चेतावनी दिएर छोडिएको जानकारी दिनुभयो । स्थानीय तहमा साधन, स्रोत एवं जनशक्तिको अभावमा आवश्यक भएजति अनुगमन गर्न भने नसकिएको अनुगमन समिति संयोजकहरुको स्वीकारोक्ति छ ।
खाद्य सामग्री, निर्माण सामग्री, गाईवस्तुका आहार लिएर तराईबाट आएका ठूला ट्रक काठ क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । कोरोना फैलिएको बारा पर्सा लगायत जिल्लाबाट सामग्री बोकेर आएका सवारीलाई असुरक्षित रुपमा शहरको भित्री भाग हुँदै जान दिनु नहुने गोकर्णेश्वर नगरपालिका वडा नं।–२ का श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ९ : ३६ बजे