२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चक्रवातको प्रभावले तीन दिन मेघ गर्जनसहित पानी पर्ने


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares


६ जेठ ०७७, काठमाडौं । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभावले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भइ निरन्तर भइरहने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।
हाल देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । दिउँसो देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली भई मध्य र पूर्वी केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ११ : ५५ बजे