९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापाखेलमा मानव सेवा आश्रम


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares


१३ जेठ ०७७, धापाखेल ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको हो ।
ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभयो । यस चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट आश्रम निर्माणका लागि रु १० लाख विनियोजन भएको भुषालले बताउनुभयो । उपप्रमुख सत्यालले आश्रम निर्माणमा महानगरपालिकाले साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेवा आश्रम ललितपुरका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले आश्रमको भवन आधुनिक, सुविधासम्पन्न, छकोठे र दुई तलाको निर्माण हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फलामको पिलरमाथि चार भित्तामा सिमेन्ट बोर्ड प्रयोग गरी एक हजार ८०० स्कवायर फिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेका छौँ। यो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ । ललितुरमा देखिने अनाथ, बेसहारा, परिचयविहीन, मनोरोगीलाई ध्यानमा राखी आश्रमको भवन निर्माण गर्न लागेका हौँ ।” आश्रम निर्माणमा रु ५० लाख खर्च हुने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो ।

केही वर्षअघिदेखि महानगरपालिका–२३ हात्तीवनमा आश्रमको शाखा रहेको हुँदा अब बन्ने भवन भने उपशाखाका रूपमा प्रयोग हुनेछ । “नेपालको १४ जिल्लाभर १८ स्थानमा आश्रम खोलिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ३७०–८० मानिसले आश्रमबाट सेवा लिइरहेका छन्”, पौडेलले थप्नुभयो । हात्तीवन आश्रममा नौ जनाका टोली २४ घण्टा खटिने गरेको पौडेलको भनाइ छ ।
आश्रम निर्माणका लागि भुसालले जस्तै झम्सिखेल निवासी कमला शर्माले व्यक्तिगततर्फबाट रु १० लाख, गत वर्ष मानभवन निवासी सुरेन्द्रगोविन्द जोशीले रु एक लाख, मकैकुमारी विष्टले रु २५ हजार पाँच र एकान्तकुना निवासी सरला ढकालले रु ५५ हजार ५५५ सहयोग गर्नुभयो । आश्रम निर्माणका लागि सरकारी जग्गा भोगाधिकारका रूपमा उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ०६ बजे