४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच युवक हत्या आरोपमा दलित पत्रकार आन्दोलित


१६ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

माइतीघर मण्डलामा प्रर्दशन गर्दै दलित पत्रकारहरु । तस्विरहरु ः ललितपुर खबर

१६ जेठ ०७७, काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशभर एकसाथ प्रदर्शन गरेको छ ।


घटनाको विरोधस्वरुप दलित समुदायका पाँच युवा पत्रकारले आज काठमाडौँको माइतीघर मण्डलामा शरीरमा सेतो कपडाले बेरेर मैनबत्ती बालेका थिए । काठमाडौँसहित सङ्घको नेतृत्वमा बुटवल, कपिलवस्तु र सुर्खेतलगायत ६४ जिल्लामा दलित समुदायका पत्रकारले एकसाथ विरोध प्रदर्शन गरेका छन् । शनिबार रुकुमपश्चिम चौरजहारी–८ सोती निवासी मल्ल थरकी एक युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर युवतीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ छ ।


मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै युवतीको घरमा गएका अन्य चार जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एक जना बेपत्ता छन् । प्रदर्शनमा नेपाल पत्रकार महासङ्घका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूतविरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कारवाहीको माग गर्दै दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शून्य सहनशीलता अपनाएर कानून कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, साझा पार्टीका नेता प्रकाशचन्द परियार, पत्रकार ऋषि धमला र सङ्घका उपाध्यक्ष गोपाल बराइलीलगायतले दोषिमाथि कडा कारवाहीको माग गर्नुभयो । निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले समेत आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।