१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लक डाउनमा ‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति


१८ जेष्ठ २०७७, आइतबार  

0
Shares

काभ्रे नमोबुद्धस्थित श्यामपाटी । तस्विर ः ललितपुर खबर

१८ जेठ ०७७, भकुण्डे काभ्रे । बन्दाबन्दीकै बीचमा पनि निरन्तररूपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको आठ किलोमिटर सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ । वाग्मती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेटबाट शुरु गरेको सडक स्तरोन्नतिको काम नगरको वडा नं ७, ८, ९, १०, ११ र १ जोड्ने श्यामपाटी–काउसे–दारेगौँडा–भकुण्डे सडकखण्डको आठ किलोमिटर सडक तोकिएको समयभन्दा करिब एक महिनाअघि नै सम्पन्न गरेको सडक स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर तामाङ (धावा)ले बताउनुभयो ।

“हामीले योजना सम्झौता भएको समयभन्दा करिब एक महिनाअघि नै त्यो पनि कम लागतमा तोकिएको मापदण्डअनुसारकै काम सम्पन्न गरेका छौँ”, तामाङले भन्नुभयो, “उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार, ढिलासुस्ती, नराम्रो र समयमा कहिल्यै गर्दैन भन्ने आम जनमानसको बुझाइलाई गलत सावित गर्दै हामीले जिल्लाकै नमूना काम गरेर देखाएका छौँ ।” यसअघिको साढे तीन मिटरको फराकिलो सडकलाई बढाएर अहिले आठ मिटरको बनाएको छ ।

काम सम्पन्न भएसँगै सम्बन्धित वडाका वडाध्यक्ष, जनसमुदाय र उपभोक्ता समितिबीच सार्वजनिक सुनुवाइ गरी काममा लागेको खर्च विवरण प्रस्तुत गरिएको छ । सडक स्तरोन्नति भएपछि अब त्यहाँका किसानलाई आफ्नो बारीमा उत्पादित तरकारी तथा फलफूल आफ्नै घरआँगनबाट बजारसम्म पु¥याएर आर्थिक उपार्जनमा सहज हुने भएको छ ।

सडकको स्तरोन्नति भएसँगै अब छिट्टै कालोपत्र (पक्की) गर्न नगरसभाबाट रु दुई करोड बजेट विनियोजन भइसकेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताउनुभयो । काम सम्पन्न भएपछि भकुण्डे–नौविसे–पुजारी टापु–दारेगौँडा–सिमपानी छाप–काउसे–नमोबुद्ध–पनौती–ललितपुरको लुभु हुँदै ग्वार्को जान निकै सजिलो हुने भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ५९ बजे