११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी


४ असार २०७७, बिहिबार  

0
Shares

४ असार ०७७, भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ ।” क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ । प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो ।
त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ४१ बजे