५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुटवलबाट नेपाल पस्यो ठूलो समूहमा सलह


१३ असार २०७७, शनिबार  

0
Shares

बुटवलमा शनिबार देखिएको सलह किरा । तस्वीर ः निरा गौतम\रासस

१३ असार ०७७, बुटवल । रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा सलह जस्तो देखिने कीरा देखा परेको छ । बुटवल क्षेत्रमा आज बिहानदेखि नेपाली सैनिकको रामनगरस्थित ब्यारेक क्षेत्र, शिवनगर, जेसिजचोकलगायत क्षेत्रमा ठूलो समूहमा सलह जस्तो कीरा देखिएपछि त्यसको अनुसन्धान शुरु गरिएको प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुपन्देहीको भैरहवास्थित गहुँबाली विकास कार्यक्रमका कीटविज्ञ र प्रदेश कृषि निर्देशनालयका कीटविज्ञको टोलीले संयुक्त रुपमा अनुसन्धान शुरु गरेको रछ । टोलीको अध्ययनपछि मात्र कस्तो खालको कीरा हो भन्ने यकिन गर्न सकिने छ । अहिले पनि बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ कीरा उडेको देखिन्छ । “यो सलह कीरा नै हो भने यसले आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ”, मन्त्रालयका सचिव सुवेदीले भन्नुभयो, “सलह कीराले ठूलो समूहमा आएर बालीनालीमा बस्यो भने पूरै सखाप पार्छ ।”
सलहकोे जन्म मरुभूमिमा हुने र लगातार वर्षामा सलह कीरा उठ्न नसक्ने अध्ययनबाट देखिए पनि नेपालमा कसरी आयो भन्ने यकिन गर्न नसकिएको उहाँले बताउनुभयो । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले आफूहरुले बुटवल क्षेत्रमा देखापरेको कीराका बारेमा अध्ययन गरिरहेको बताउनुभयो । “हामी अध्ययनमा छौँ, ठूलो समूहमा देखिएकाले सलह कीराकै अनुमान गर्न सकिन्छ”, उहाँले भन्नुभयो । बुटवल क्षेत्रको आकाशमा सलह जस्तो कीरा देखिएपछि सर्वसाधारण त्रसित बनेका छन् । सलहले बालीनालीमा ठूलो नोक्सान गरे पनि मानवीय स्वास्थ्यमा भने कुनै असर नगर्ने सचिव सुवेदीले बताउनुभयो ।
–––

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।