१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खेलकूदमन्त्रीद्वारा भक्तपुरको चाँगुमा निमार्णाधिन अन्तर्राष्ट्रिय रङ्गशालाको निरीक्षण


२८ असार २०७७, आइतबार  

0
Shares


२८ असार ०७७, भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण शुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री विश्वकर्माले अहिलेको चुनौतीपूर्ण समयमा पनि रङ्गशाला निर्माण शुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । विकासका लागि बजेट अभाव नहुने चर्चा गर्दैै उहाँले दिगो विकास, प्रभावकारी तथा स्थायित्वसहितको डिजाइनमा रङ्गशाला सुन्दर, स्रोतसाधन परिचालनमा योजनाबद्ध एवं व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री विश्वकर्माले खेलकूद हुनेखाने मानिसका लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्यसँग जोडिएको बताउँदै रङ्गशाला निर्माणमा नगरपालिकाको सहयोगमा थप सहयोग गर्दै आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणकार्यलाई पूर्णता दिने बताउनुभयो ।
सांसद एवं पूर्व मन्त्री बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने सपना पूरा हुने भएको बताउनुभयो । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न खोज्दा चौतर्फीरूपमा नेमकिपाले विरोध गरेको उल्लेख गर्दै उहाँले भँगेरीडाँडामा बन्न लागेको रङ्गशालाको समेत सांसद प्रेम सुवालले संसद्मै विरोध गरेको बताउनुभयो ।
नेपाल सरकारले उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कार्यक्रम ल्याएको र सोहीअनुसार प्रक्रिया अघि बढेको जानकारी गराउँदै उहाँले उक्त स्थानमा खेलकूद तथा पर्यटनको महत्वपूर्ण उद्गमस्थलका रूपमा विकास गर्ने योजना बनिरहेकोसमेत जानकारी गराउनुभयो । रङ्गशाला निर्माण सम्पन्न भएसँगै चाँगुनारायणको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, रोजगारी, व्यापार व्यवसायलगायतका क्षेत्रमा भक्तपुरले ठूलो फड्का मार्ने विश्वास व्यक्त गरिएको छ ।
चाँगुनारायण नगरपालिकाले वडा नं ४ र ७ को भँगेरीडाँडामा जग्गा उपलब्ध गराएसँगै रङ्गशाला निर्माण शुरु भएको हो । सङ्घीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला निर्माण गर्ने उल्लेख गरेको थियो । सोहीअनुसार उक्त क्षेत्रमा रङ्गशालाको निर्माण शुरु गरिएको सांसद बस्नेतले बताउनुभयोे ।
नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रङ्गशाला नगरापालिकाले रु ५० लाख बजेट व्यवस्थापन गरी निर्माण शुरु गरेको छ । रङ्गशाला निर्माणका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता आएको छ । त्यस अवसरमा रङ्गशाला निर्माणको नेतृत्व लिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले रङ्गशाला निर्माणसँगै स्थानीय विकास, पर्यटन एवं कृषिको विकास, रोजगारीको व्यवस्थासँगै आर्थिक अवस्था वृद्धि हुने बताउनुभयो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ०४ बजे