१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजमार्गमा पहिरै–पहिरो, थोरै वर्षामै ठूलो खतरा


१८ श्रावण २०७७, आइतबार  

0
Shares

धादिङ जिल्लाको मलेखु र चितवनको मुग्लिन जोडने सडकखण्डको बीचमा पर्ने जवाङ खोला नजिक त्रिशुली नदीले कटान गरेको सडक । भारी वर्षापछि त्रिशुली नदीमा आएको बाढीले कटान गर्दा सडक एकतर्फी सञ्चालनमा छ भने दुर्घटनाको जोखिम छ । धादिङ खण्डमा सयाँै स्थानमा पहिरा ेखसेर राजमार्ग आवतजावत प्रभावित छ । तस्वीर ः नारायण ढुङगाना\ रासस

१८ साउन ०७७, चितवन । मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपाली अत्यधिक पहिरो खसेको छ । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस् या त्रिभुवन राजमार्ग धेरै स्थानमा पहिरो खसेको छ । यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म भने अत्यधिक पहिरो छ । राजमार्गको भित्ता पहिराले छियाछिया पारेको छ । सयौँ ठाउँमा पहिरो गएको छ ।
धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ । त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिराले सडकमा ठूलो क्षति गरेको छ । धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ ।
कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ । कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्थामा देखिन्छ । सवारी चालक कृष्ण परियार भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताउछन् । यसपाली मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ । सडकको तल्लो तह पहिराले कटान गर्दा सडक एकतर्फी छ । कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ । केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो । अस्थायीरूपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ ।
“वर्षा भयो भने झुण्डिएका पहिराले थिच्ला भन्ने डर छ, बढी घाम लाग्दा माथि खस्न लागेका ढुङ्गाले हान्ला भन्ने डर छ, डराइडराइ सवारी चलाउनुपरेको छ”, ट्रक चालक परियारले दुःखेसो पोखे ।

सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ । धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ । वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराले ल्याएको बाक्लो गेगर हटाइएको छैन । राजमागर्गभरि लहरै पहिरो खसेर यात्रु र सवारी चालकहरु त्रासमा यात्रा गर्न बाध्य छन् । सानो वर्षा हुँदा नै ठूलो खतरा छ । पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकएको छैन । कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ । कतै सडक एकतर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्सा नै सडकमा बगिरहेको छ । सडकभन्दा तल्लो भागमा नदीले कटान पनि गरेको छ ।

यसपाली पृथ्वी राजमार्गको धादिङ खण्डमा भने सयौँ पहिरा छन् । कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ । ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ । चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठुलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ । अझै पनि पानी पर्दा यहाँ भने सडक ठप्प हुने देखिन्छ । भूगर्भविद् शिव बाँस्तोला पानी पर्यो भने पहिलेका पहिरा खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्दा नै राम्रो हुने सुझाव दिन्छन् । “मनसुन सक्रिय रहेकाले थोरै पानी पर्दा पनि धेरै खतरा हुन्छ”, पोखरेलले भने, “यो बेलामा आफ्नो घर वरिपरि पनि सुरक्षित हुने गरी सावधानी अपनाउन र यात्रा गर्दा पनि विशेष ध्यान दिनुपर्छ ।”

यसपाली भेल पहिरोले मुलुकमा ठुलो जनधनको क्षति पुर्याएको छ । भौतिक सम्पत्ति मात्रै होइन पहिरोले मानवीय क्षतिसमेत धेरै भएको छ । प्राधिकरणका अनुसार जेठ ३० पछि (मनसुन सक्रिय भएपछि) डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १६३ जनाको ज्यान गइसकेको छ । पैँतालीस जना अझै हराइरहेका छन् । खोजी जारी रहेको जनाइएको छ ।
मुग्लिन–नारायणगढ सडकमा कम क्षति
यसपाली नारायणगढ–मुग्लिन सडकखण्डमा भने विगत वर्षको तुलनामा कम पहिरो खसेको छ । स्थलगत अनुगमनमा समेत मुग्लिनको सीमित क्षेत्रमा केही ठुलो पहिरो खसेको छ भने अधिकांश क्षेत्रमा पहिरो अडिएको देखिन्छ ।
कतिपय स्थानमा रक नेटिङका कारणले पनि पहिरो अडिएको पाइएको छ । कतिपय स्थानमा भने रुख विरुवा पलाउन थालिसकेको छ । यद्यपि चार किलो, जलविरेलगायत केही स्थानमा भने यसपालि पनि ठूलाठूला पहिरो खसेर पटकपटक सडक अवरुद्ध बन्यो । जलविरेको पहिरो भने अझै राम्ररी हटिसकेको छैन । त्यहाँ सामान्य पानी पर्दा नै पानी जमेर ठुलो जोखिम हुने गरेको छ । चार किलोमा भने पटकपटक पहिरो खसेकाले यो वर्ष पनि बेलाबेलामा दुईतीन दिनसम्मै सवारी जाम हुँदा यात्रुलाई सास्ती भएको थियो । सत्र किलोलगायत दुई स्थानमा दुई वर्षअघि भत्किएको सडक अझै नबन्दा सडक एकतर्फी नै छ । टोपेखोला, घुमाउनेलगायत धेरै स्थानमा भने यसपाली पहिरो अडिएको देखिन्छ तर जोखिम भने कायमै छ । कतिपय स्थानमा माथिबाट पहिरो र ढुङ्गा खस्ने अवस्था समेत देखिएको छ ।
मनसुन कमजोर बन्दै

पछिल्लो केही दिनदेखि भने मनसुन कमजोर बन्दै गएको छ । अहिले लगातारको झरी हुने सम्भावना भने कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार लामो भारी वर्षा भने देखिँदैन ।
केही ठाउँमा मात्रै हल्कादेखि मध्यम पानी पर्छ तर जोखिम भने कायमै छ । मौसमविज्ञान विभागका अनुसार आगामी दिन प्रदेश १, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदुरश्चिमको एकदुई ठाउँमा भारी वर्षा हुने अनुमान छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : २६ बजे