५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज निवेदन, भोलि मात्रै पास


२२ श्रावण २०७७, बिहिबार  

0
Shares

२२ साउन ०७७, ललितपुर । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोरोना देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

प्राप्त विवरणअनुसार आज मात्रै मुलुकभर ३ सय ६० जनामा कोरोना देखिएकोमा उपत्यकाका मात्रै ८७ जना छन् । अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँमा पछिल्लो समयमा कोरोनाको जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ । मन्त्रालयले आजदेखि लागू हुने गरी यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ०६ बजे