१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘डोजरले तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नुपर्छ’


९ भाद्र २०७७, मंगलबार  

0
Shares


९ भदौ ०७७ ललितपुर । ‘वर्षा र सहकालका देवता’ का रुपमा मानिएको रातो मच्छिन्द्रनाथ रथयात्रा डोजरले तानेर गर्न सकिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताएका छन् ।
उनले महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न तीनवटै सुरक्षा निकाय, जात्रासँग सम्बन्धित व्यक्ति, रथाको अगाडी डोजर र पछाडी एउटा क्रेन बाधेर भएपनि नढल्काइकन रथजात्रा गर्नुपर्ने सुझाव दिएका हुन् । जोशीले भने, “सरकारले यसै किसिमको योजना बनाएर अघि बढ्दा छिट्टै रथयात्राको समस्या समाधान हुने थियो ।” यस विषयमा कुरा गर्न आफूहरु गुठी संस्थान शाखा कार्यालय जाँदा कर्मचारीसँग भेट नभएको जोशीले गुनासो गरे ।
राजधानीमा कोरोना संक्रमणले भयावहस्थित आएपछि रथयात्रा पुनः अन्यौलमा परेको छ । कोरोना सङ्क्रमणको जोखिम र समय अभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने अनिश्चित भएको हो ।
काठमाडौ उपत्यकामा हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्या थपिदै गएका छन् । यही भदौ महिनाको तेस्रो सातासम्ममा रथयात्रा सम्पन्न गर्न आवश्यक रहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताएका छन् । जोशीले भने, “अबको एक हप्तादेखि १० दिन भित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ । यस अवधिमा पनि रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हँुदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेलसम्म रथ पु¥याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्छ । शुभ साइत पनि पाउन मुस्किल हुनेछ । आगामी असोज दुई गतेबाट मलमास शुरु हुन्छ । मलमासमा रथजात्रा गर्नु हुँदैन । आगामी कात्तिक महिनाको दुई गतेबाट नौरथा र १० गते विजयादशमी रहेको छ । बाँकी रहेको छोटो समय र आगामी मङ्सिरमा मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्छ ।”
आफूहरुले गत आइतबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरी यसका बारेमा अवगत गराएको जोशीले जानकारी एका छन् । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । अहिलेसम्म सोही स्थानमा राखिएको छ । रथलाई पुल्चोकबाट गाःबहाल पु¥याएपछि गुरु पुजा, गाःबहालबाट मङ्गलबजार पु¥यापछि दरवार पुजा , मङ्गलबजारबाट सुन्धारा पु¥यापछि बाराही पुजा र सुन्धाराबाट लगनखेल पु¥यापछि उपयुक्त दिनमा महाबली दिनुनै पर्ने चलन रही आएको छ । यी कार्य नगरी नहुने भएकाले यसमा समेत केही समय खर्च हुने जोहीले जानकारी दिए ।
रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुर लगायतका १९ समूहसँग मिलेर छिट्टै निष्कर्ष निकाल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महर्जजले भने, “दशै अघिसम्म पाटनमा रथयात्राका साथै भोटोजात्रा सम्पन्न गरिएन भने रातो मच्छिन्द्रनाथलाई भक्तपुरवासीले आफ्नो हक जताएर लान पाउछन् भन्ने कुरा सुन्नमा आएपनि यो कुरा भने कुनै पनि पुस्तकमा उल्लेख भएको छैन । मच्छिन्द्रनाथलाई अर्काे शहरका मानिसले लान्छन भन्ने हल्ला गर्नुभन्दा पनि उपयुक्त समयमै भोटोजात्रा सम्पन्न गर्नुपर्छ ।” बढ्दो महामारीका कारण हाललाई भोटोजात्रा भन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको महर्जनले बताए ।
आफूहरु जात्रासँग सम्बन्धित एक सहयोगी संस्था मात्र रहेकाले सरकारको निर्णय पछि काममा अघि बढ्ने समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । मच्छिन्द्रनाथ रथयात्रा कहिले गरिन्छ भन्ने निर्णय यही भदौ १५ गतेपछि हुने पुजारी पूर्णराज शाक्यले बताए ।
इतिहासका अनुसार वि.सं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । गत वर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा लोकेश्वरको मुख पश्चिमपट्टी फर्काइ महास्नान गराइएको थियो । । चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दुध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्घारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले जानकारी दिए । उनले भने, “दशै अघिसम्म पाटनमा रातो मच्छिन्द्रनाथको रथजात्रा र भोटो जात्रा दुवै सम्पन्न गरिएन भने बुँगद्यःलाई भक्तपुरवासीले आफ्नो हक जताएर सधैभरिका लागि त्यहाँ लान पाउछन् । मच्छिन्द्रनाथलाई यदि भक्तपुर लगेमा सधै भरी यस जात्रा भक्तपुर शहरमा गर्नुपर्ने हुन्छ । भक्तपुरमा पनि लोकेश्वरलाई राख्ने मन्दिर बनेको छ ।” वृष्टिदेवको जात्रा गर्न विभिन्न वस्तुको आवश्यक पर्ने भएकाले यसलाई जुटाउन र रथबनाउन पनि निकै मिहिनेत गर्नुपर्ने हुँदा यस अघि एक पटक भक्तपुरवासीले करुणामयलाई उतै लाने अवसर पाउँदा नलगि पाटनमै छाडिदिएका कुरा सुन्नमा आएको उनले जानकारी दिए ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभइ अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
काठमाडांै उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौं उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । यस वर्ष जावलाखेलवासीले समेत रथ र भोटोजात्रा हेर्न पाउछन् कि पाउँदैनन् भन्ने अन्यौल रहेको छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ । लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् ।
रक्तावलोकितेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ । दुई ठूला ठूला आँखा छन् । दबिएको नाक छ । उचाइ चार फुट लामो छ । पवित्र माटो (मृत्तिका, तेराकोटा) बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा र बाला र खुट्टामा कल्ली सुशोभित छन । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तरााभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १ : १३ बजे