११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अब उपत्यकामा एउटै क्वारेन्टिन


१२ भाद्र २०७७, शुक्रबार  

0
Shares

खरिपाटी क्वारेन्टिन । फाइल तस्विर

१२ भदौं ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एउटै क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको छ ।
उपप्रधान एवं रक्षा मन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य र गृहमन्त्रालयका सचिव र उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठको टोलीबीच छलफल भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिएका छन् । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले भने, “ छलफलमा उपत्यकामा तीन हजार बेड पुगिसकेको र अब तीन हजार थप्नेबारेमा छलफल गरी सहमति भएको छ, शहरी विकास मन्त्रालयले व्यबस्थापन गर्ने क्वारेन्टिनस्थलको स्थानीय तहसँगको समन्वयमा खोजी गरी पहिचान गरिने भएको छ ।”

उनका अनुसार उपत्यकामा दुई हजार बेडको आइसोलेसन तयार भएको र स्थानीय तहसँगको समन्वयमा केही निजी अस्पतालको सहमतिमा थप एक हजार बेडको आइसोलेसन तयार गर्ने सहमति भएको छ । यसअघि क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने सङ्क्रमितको दैनिक खाना खाजाका लागि सरकारले रु. १७५ निर्धारण गरेकोमा यो रकम बढाउनुपर्ने नगरपालिका फोरमले छलफलमा माग गरेको छ । श्रेष्ठले भने, “दैनिक रु. १७५ मा ब्रेकफास्ट, खाजा, दुईछाक खाना खुवाउन सक्ने अवस्था छैन, थप रकम खर्च गर्दा पनि बेरुजु निस्कन्छ, यो रकमलाई बढाएर दैनिक रु. ५ सय बनाउनेबारे छलफल भयो, यसमा सीसीएमसीसंग मौखिक सहमति भएको छ, मन्त्रीपरिषद्ले यो निर्णय गर्ने आशा लिएका छौ ।” उपत्यकामा बढ्दो सङ्क्रमण रोक्न नगरपालिकाले क्वारेन्टिनदेखि आईसोलेसनसम्मको व्यवस्थापनमा सरकारसँग हातेमालो गर्दै जाने भएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टिन र आइसोलेसन बढाउने भएको हो ।
विहबिार उपत्यकामा ३ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा सङ्क्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ को पिसीआर परीक्षण गर्दा थप १ हजार १ सय ११ मा सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा अहिलेसम्म ३५ हजार ५ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । जसममध्ये १५ हजार ७३ जना आइसोलेसनमा छन् भने अहिलेसम्म २० हजार ७३ जना निको भएर फर्किएका छन् । देशभर हाल ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना सङ्क्रमणबाट १ सय ८३ को ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ५० बजे