३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन


२५ भाद्र २०७७, बिहिबार  

0
Shares

२५ भदौं ०७७, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा राखेको श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै श्रेष्ठले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिए । राबोटमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल हुने जानकारी दिँदै श्रेष्ठले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने जानकारी दिए ।

नगरपालिकाले आफ्नै पिसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ । भदौ महिनाको २४ गतेसम्ममा दुई हजार १ सय १२ को परीक्षण गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले हालसम्म ३ सय २७ जनालाई सङ्क्रमण भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १ ‘य ७१ जना होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
नगरपालिकाले भयावह अवस्था आउन नदिन कन्ट्याक्ट टे«सिङलाई व्यापक बनाएको उल्लेख गर्दै उनले भने, “परीक्षणको दायरा बढाएकाले यहाँ बढी सङ्क्रमित देखिएको हो, हामीले सङ्क्रमितको सहज व्यवस्थापन गरेका छौँ, हामी जनप्रतिनिधिसहितको टोली सङ्क्रमित परिवारको घरघरमा पुगेर बाहिर बसेर उनीहरुको समस्या बुझ्ने, समस्या भए समाधान गर्ने तथा मनोपरामर्श दिएर हौसला प्रदान गरेका छौँ ।”
नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको जानकारी दिँदै श्रेष्ठले मिर्र्गौलाका बिरामीलाई लक्ष्य गर्दै एक शय्याको डायलाइसिस र मेसिन तयारी अवस्थामा राखेको बताए । नगरपालिकाले अस्पताल नजिकैको एक गेस्टहाउसमा बनाएको क्वारेन्टिनमा गत चैतदेखि १ सयभन्दा बढी शङ्कास्पदलाई राखिसकेको छ ।
नगरपालिकाले अहिलेसम्म सरकारसँग पिसीआर परीक्षणको किट लिएको छैन भने नगरपालिका आफैँले खरिद एवं व्यवस्थापन गरेको छ । हालै मात्र पाँच लाख बराबरको पाँच हजार थान पिसीआर किट किनेर परीक्षणलाई अझ तीव्रता दिएको छ । नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षणलाई उच्च प्राथमिकतामा राखेको नगरपालिकाले हिजो २४ गते मात्रै मध्यपुरथिमि प्रहरी वृत्तका १ सय ३० प्रहरीको निःशुल्क पिसीआर परीक्षण गरेको थियो ।
नगर प्रमुख श्रेष्ठले भने, “बोडेको कृषि विकास बैंकको तालीम केन्द्रमा रहेको ५० शय्या क्षमताको भवनलाई आइसोलेसन बनाउने निर्णय भएको छ, यसमा मध्यपुरका बासिन्दालाई प्राथमिकता दिएर सङ्क्रमित राख्ने भएका छौँ, यसको खर्च नगरपालिका आफैँले व्यहोर्ने छ ।”

उनले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार, उनीहरुको कन्ट्याक्ट टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षणलाई तीव्र पारेको छ । नगरपालिकाले आफ्नै ल्याबमा स्वाब सङ्कलन गरेपछि आपत्कालीन अवस्थाको १२ घण्टाभित्र र अरूको २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ६ : ०८ बजे