१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा कोरोना सङक्रमण बढ्दो


१४ कार्तिक २०७७, शुक्रबार  

0
Shares

 

 

१४ कात्तिक ०७७, भक्तपुर । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा शुक्रबार बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५ सय नाघेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १ सय ७५ पुरुष र दुई हजार ४ सय २१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५ सय ९६ जना पुगेको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगङ्गा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।
कोरोना सङ्क्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा गौतमले जानकारी दिए ।

कात्तिक ४ गते कोरोना सङ्क्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको उनको भनाई थियो । कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको छ ।
कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६ सय १८ महिला गरी तीन हजार ६ सय ९९ सङ्क्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए । भक्तपुरमा हाल एकहजार ४७ पुरुष र ७ सय ८१ महिला गरी एक हजार ८ सय २८ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये २ सय २२ पुरुष १ सय ३१ महिला गरी ३ सय ५३ अस्पताललगायतको आइसोलेसनमा तथा ९ सय ७५ पुरुष र ७ सय ७२ महिला गरी एक हजार ७ सय ४७ अर्थात ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको बताए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : १२ बजे