११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हेलम्बु अव स्याउको गाउँ


१९ कार्तिक २०७७, बुधबार  

0
Shares


१९ कात्तिक ०७७, हेलम्बु । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो ।
अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३ सय किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताए । हेलम्बु क्षेत्रमा वर्षा भइरहने र बढी चिसो हुने भएका कारण स्याउ मीठो हुने पनि उनले बताए ।
स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको पेमाल्हामु शेर्पाले बताए । स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूको भनाइ छ । “गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ”, मेलम्चीघ्याङका कामी लामाले भने, “सरकारले यसतर्फ ध्यान देओस् भन्ने चाहन्छौँ ।”स्याउ फुल्ने समयमा असिना पर्ने गरेका कारण थप समस्यामा परेको उनले सुनाए ।

नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ । हेलम्बु मात्र होइन अहिले यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती शुरू गरिएको छ । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए ।
गाउँपालिकाले पनि स्याउ उत्पादन गर्ने किसानहरूलाई विशेष सहुलियत दिने र हेलम्बुलाई स्याउको गाउँ बनाउने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । मनाङ एग्रोबाट बिरुवा ल्याएर परीक्षण गरिएकोमा राम्रो उत्पादन भएका कारण अब अन्य ठाँउमा पनि लगाइने गाउँपालिकाले बताएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : ४७ बजे