११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा ढुंगा खानी चलाउन निषेध


४ मंसिर २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

४ मंसिर ०७७,काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका पहाड तथा खोलाबाट ढुंगा निकाल्न विहीबारदेखि रोकेकोे छ । काभ्रेका विभिन्न्न स्थानमा सञ्चालित क्रसर उद्योगका लागि प्रयोग हुदै आएका ढुंगा खानीबाट ढुंगा निकाल्न रोकेको हो ।
काभ्रेमा अहिलेसम्म ३१ वटा क्रसर उद्योग र लगभग तीन दर्जन रोडा–ढुंगा खानी चलिरहेका छन् । कार्यालयले विहीदेखि यहाँ सञ्चालन मा आएका सबै खानी बन्द गर्न निर्देशनसहित सबै स्थानीय तह तथा प्रहरीलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीका अनुसार केही दिनको अनुगमनपछि मापदण्ड पुगेकालाई सञ्चालन गर्न दिइनेछ । ‘अहिले सबै खानीमा उत्खनन बन्द गराएका हौँ, मापदण्ड पुगेका र राष्ट्रिय प्राथमिकताका आयोजनामा सामग्री आपूर्ति गर्नेलाई अनुगमनपछि मात्रै सञ्चालन अनुमति दिइनेछ,’ पोखरेलले भनेका छन् ।
हप्ताअघि गृहमन्त्रालयले मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । मन्त्रालयलले आ–आफ्ना जिल्लाभित्र ढुंगा–गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा रहेको, मापदण्डअनुसार भए–नभएको, सरकारलाई राजस्व बुझाए–नबुझाएको र दर्ता भए–नभएको यकिन विवरण सात दिनभित्र पेश गर्न ७७ वटै जिल्लाका प्रजिअलाई निर्देशन दिएको थियो । साथै, मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड १५ दिनभित्र परिमार्जन गरी पेश गर्नसमेत निर्देशन दिएको छ ।

काभ्रेपलाञ्चोकमा भने यसअघि जिल्ला समन्वय समितिको समन्वयमा गर्दै आइएको अनुगमनले मापदण्डविपरित रूपमा रोडा–ढुंगा खानी सञ्चालन गर्दै आएको देखाएको छ । जिल्लामा रहेका क्रसर उद्योगद्वारा सञ्चालित सबै रोडा–ढुंगा खानी अवैधानिक रहेको जिससका सदस्य एवं प्रवक्ता प्रेम लामाले बताए । उनका अनुसार अनुगमनले अवैधानिक देखाएका उद्योगलाई कारवाही गर्न संघ, प्रदेश तथा स्थानीय तहद्वारा कुनै ठोस नीति आएको थिएन । यसअघि अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडा–ढुंगा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक कागजात जिल्ला ल्याउन र मापदण्ड पुर्याउन भन्दै ‘सचेत’ गराउँथ्यो ।

जिससको अनुगमन प्रतिवेदनमा सबै क्रसर मापदण्डविपरीत रहेको तथा सम्झौताबेगर नदीबाट बालुवा उत्खनन गरिएको उल्लेख गर्दै आएको थियो । काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ ९संकलन र उपयोग० सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार चलेका छैनन् । जिल्लाका अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जंगल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको छ ।

अवैधानिक खानीका कारण बस्तीसमेत जोखिममा पर्ने देखिएको, ठेकेदार कम्पनीले उत्खनन क्षेत्रमा राख्नुपर्ने उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङ बोर्डसमेत नराखेको अनुगमनले देखाएको थियो ।

सरकारले विद्यमान ढुंगा, गिट्टी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्डलाई परिमार्जन गरी नयाँ मापदण्ड ल्याएको छ । नयाँ मापदण्डअनुसार अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको पर सञ्चालन गर्नुपर्नेछ । मापदण्ड अनुसार वन, निकुञ्ज र आरक्षण क्षेत्र, घनाबस्ती, अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटरको दूरीमा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइनेछ ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी नयाँ मापदण्डमा चुरे पहाडका फेदीबाट एक हजार ५ सय मिटरको दूरीमा क्रसर सञ्चालन गर्नुपर्ने तथा खोला, नदी किनाराबाट, पक्की पुल र राजमार्गको ‘राइट अफ वे’बाट ५ सय मिटरको दूरीमा मात्रै उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

जिसस प्रमुखको संयोजकत्वमा स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्लास्थित सशस्त्र प्रहरी, डिभिजन वन कर्यालय प्रमुखलगायत नौ कार्यालय प्रमुख रहेको अनुगमन समिति रहने प्रावधान मापदण्डमा समावेश गरिएको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  १० : २८ बजे