लपु संवाददाता
१६ मंसिर ०७७, चापागाँउ । ठेचो चापागाँउ सडक कालोपत्र भएको गत कार्तिकमा १ बर्ष पुग्यो । तर कालोपत्र गरेको ३ महिनाबाट भत्कन शुरु गरेको यो सडक अहिले उस्तै भइसक्यो ।
२०७२ सालमा सातदोवाटो लेले सडकखण्ड विभिन्न ३ ठेकेदार कम्पनीलाई विस्तार र कालोपत्र गर्नका लागि ठेक्का लगाए पनि घर भत्काएर सडक विस्तार गर्ने जमिन नदिएपछि ठेकेदारहरुको ३ बर्षे कार्यावधि त्यतिकै गुज्रेको थियो ।
भत्केको सडकका कारण हैरान स्थानीयबासीले पटक पटक आन्दोलन गरेपछि यथास्थितीमा सडक कालोपत्र गर्न मन्त्रीस्तरिय निर्णय भयो । स्थानीय जनप्रतिनिधिहरुले अगुवाई गरेको यो सडक कालोपत्र भयो ।
कन्टेक जेभीले ठेक्का पाएको यो सडक लालीगुराँस निर्माण सेवाले सवकन्ट्याकमा कालोपत्र गरेको थियो ।
तर सडक के कति बजेटमा कालोपत्र गरिएको हो सार्वजनिक भएन । न त सडक कालोपत्रका लागि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का नै लगाइयो ।
तर तत्काल कालोपत्र गर्ने निर्णय गरिएको यो सडक अन्र्तगत ठेचोदेखि ढोलाहिटी खण्ड अझै कालोपत्र भएको छैन । यो सडकनजिकै रहेको सुनाकोठी बस्तीका स्थानीय बासिन्दाले २ पटक सडक अवरुद्ध गरेर आन्दोलन गरिसके तर सैलुङ्ग कन्ट्रक्सनले ठेक्का पाएको यो खण्ड कालोपत्र भएको छैन ।
सैलुङ्ग कन्ट्रक्सनले सडक सम्याउने ग्राइभेल थुपार्नेलागयतको आधाआधी काम गरिसकेको छ । सडक विस्तारको योजना अघि सार्ने हो भने यो किन कालोपत्र गनु परेको हो भन्दै स्थानीयबासी आक्रोस पोखिरहेका छन् ।
एकातिर एक बर्षअघिको निर्णय कार्यान्वयन भएको छैन । सडक विस्तार गर्न भन्दै अर्को बजेट माग गर्न थालिएको छ ।
चापागाँउ बज्रवाराहीमा सोमबार सहभागी अर्थमन्त्री विष्णु पौडेलसँग स्थानीय जनप्रतिनिधिहरुले सडक विस्तारका लागि बजेट व्यवस्था गर्न माग गरे । कार्यक्रममा बोल्दै ललितपुरका प्रदेश सासंद चेतनाथ सञ्जेलले सडक अगाडिको घर भत्काएर सडक विस्तारका लागि बजेट उपलव्ध गराउन अनुरोध गरे । उनले भने, ‘मुआव्जा दिने हो भने यहाँका घर धनी घर भत्काएर सडक बनाउन दिन तयार छन् । बजेट उपलव्ध गराउनु प¥यो ।’
गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जनले पनि फेरि विस्तार गरेर सडक बनाउन बजेट माग गरे । कार्यक्रममा मन्तव्य राख्ने प्रदेश सासंद राजकाजी महर्जनले मुख खोलेनन् ।
संघीय सासंद नवराज सिलवालले जिल्लाको ८० प्रतिशत भुभाग ओगटेको क्षेत्र नं. १ का लागि बजेट कम भएको दुखेसो पोखे । उनले विकशित राजधानीका अन्य क्षेत्र झैं उपत्यकाको कर्णलीको रुपमा चिनिएको दक्षिण ललितपुरलाई समान बजेट छुट्याउदा विकाश गर्न सकिएन ।
अर्थमन्त्री विष्णु पौडेलले भने सडकका लागि बजेट उपलव्ध गराउनेबारे कुनै आश्वासन दिएनन । अर्थमन्त्री पौडेल भने, ‘सबै मिलेर साझा योजना लिएर आउनुस् । मन्त्रालयले बजेटको व्यवस्था गर्छ ।’
प्रतिक्रिया