१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जावलाखेलको चिडियाखाना हेर्न आउने संख्या धेरै


२७ मंसिर २०७७, शनिबार  

0
Shares


२७ मंसिर ०७७, जावलाखेल । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुस्थित सदर चिडियाखानामा अवलोकनकर्ता उत्साहित रुपमै आएका छन् । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरे पनि अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताए । यही मङ्सिर २५ गतेदेखि चिडियाखाना खुला गरिएको हो ।
व्यवस्थापक पोखरेलले भने, “जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनःसञ्चालनकै शुरुको दिन यही २५ गते ७ सय अवलोकनका लागि सर्वसाधारण आएका थिए भने शुक्रबार ८सय अवलोकनकर्ता आएका छन्, कोरोनाको जोखिम थप नबढे आगामी दिनमा अवलोकनकर्ता थपिनेछन् ।”
सुरक्षा मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एक पटकमा ८ सय मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् । भित्र जानेको सङ्ख्या जस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ ।
यसअघि झँै हरेक दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा १ सय १० प्रजातिका एक हजार ६८ जीव जनावर रहेका छन् । चिडिया घरका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७ सय ५०, सार्क देशका लागि रु ५ सय, नेपालीलाई रु १ सय ५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको छ ।
अनलाइन टिकट
भर्खरै मात्र अवलोकनकर्ताको सहजताका लागि चिडियाखानाले अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ । धेरैलाई यस विषयमा जानकारी नहुँदा अहिले यसको अभ्यास कम भएको छ । एक दिनमा १० जना जतिले मात्र अनलाइनको प्रयोग गरी टिकट काटेका छन् ।
चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोरोना सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : १८ बजे