१ पुस ०७७, गोदावरी । सातदोवाटो–गोदावरी सडक खण्डअन्तर्गतको ठैव–बाडेगाउँ मूल सडक यही पुस ५ देखि २० गतेसम्म अवरुद्ध हुने भएको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्रका लागि नाली तथा ढल व्यवस्थापनको कार्य गरिने भएकाले आउँदो आइतबारदेखि अर्काे हप्ता सोमबारसम्मका लागि बन्द हुने भएको हो ।
सो सडकअन्तर्गत ठाउँठाउँमा प्वाल खन्ने काम भइरहेको छ । आवश्यक प्वाल खन्न र पाइप हाल्न अनि यसलाई सुकाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गरेका छन् । उनले भने, “तीस मिटर अन्तरमा सडक खनेर नाली तथा ढलका सामग्री हालिने भएको छ । यो काम हुँदा यस सडक यात्रा नगरिदिएर सहयोग पु¥याउन साविकका गोदावरी, बडिखेल, हाँडेगाउँ र बाडेगाउँवासीलाई विशेष आग्रह गर्दछु ।”
गोदावरी र बडिखेलवासीले झरुवारासी अनि हाडेगाउँ तथा बाडेगाउँवासीले दमैटारको सडक प्रयोग गरिदिँदा दिनभरिको कामलाई निरन्तर अघि बढाउन सकिने महर्जनको बुझाइ छ । “यदि मौसम परिवर्तन तथा प्राविधिक समस्या हुन गएमा कार्यको मिति तथा समय पनि हेरफेर हुन सक्नेछ”, उन थपे ।
केही वर्ष अघिदेखि सातदोवाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासी सविता महर्जनको गुनासो छ । “सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्रसमेत बस्न कठिन भइरहेको छ”, महर्जनले भने ।
लगनखेल हुँदै गोदावरी एक टिप यात्री बोकेर गन्तव्यमा पु¥याउन पनि एक घण्टा बढी समय खर्च गर्नुपरिरहेको यहाँको चालकका आ–आफ्नै मर्म छन् । कहिले पूर्णरुपमा सातदोवाटो गोदावरी खण्डको सडक सुधार होला भन्ने कुरा अझै अन्योलमा नै रहेको छ ।
प्रतिक्रिया