१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माउण्टेन फ्याइटमा आकर्षण, एकैदिन आठ उडान


४ पुस २०७७, शनिबार  

0
Shares

४ पुस ०७७, काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि काउण्टेन फ्लाइटमा यात्रुको आकर्षण बढेको छ ।
कोरोना सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको माउण्टेन फ्लाइट उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जनाएका छन् । लकडाउनको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोरोनाअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न औधि रुचाएका छन् ।
नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् । शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् ।
यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे माउण्टेन फ्लाइट हुने गरेको छ । अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् ।
गत शनिबार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज(शनिबार) बुद्ध एयरले पाँच उडानमार्फत ३ सय यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ । यात्रुको उत्साहवद्र्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ
यतीको सातामा दुई दिन माउण्टेन फ्लाइट
यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन माउण्टेन फ्लाइट गर्ने भएको छ । हाल शनिबार मात्र माउण्टेन फ्लाइट गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो । भोलि आइतबारका लागि दुई उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिबार र आइतबार माउण्टेन फ्लाइट गरिने जानकारी दिए । उनका अनुसार यतीले काठमाडौँबाट सातामा दुई दिन र सिमरा आधार भएर हरेक शनिबार एक दिन उडान गर्नेछ ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  २ : ३९ बजे