११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरथिमि नगरपालिकालाई ‘एसियन टाउनस्केप अवार्ड’


८ पुस २०७७, बुधबार  

0
Shares

८ पुस ०७७, भक्तपुर । मध्यपुरथिमि नगरपालिकालाई यस वर्षको ‘एसियन टाउनस्केप अवार्ड’ पुरस्कार प्रदान गरिएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्त्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण काम गरी प्रगति हासिल गरेका एसियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिँदै आएको यो पुरस्कार यस वर्ष मध्यपुरथिमि नगरपालिकाले पाएको युएन हेबिट्याटका कार्यक्रम प्रबन्धक पिएस जोशीले जानकारी दिए।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै वितरण गरिने उक्त पुरस्कार पाउने मध्यपुरथिमि नगरपालिका नेपालकै एक मात्र नगरपालिका हुन सफल भएको छ। एसियाका स्थानीय सरकार, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञलगायतको प्रतिस्पर्धामा दक्षिण कोरियाका चार, जापानका तीन, चीनका दुई तथा मलेशिया, नेपाल र थाइल्याण्डका एक–एक नगरपालिकाले उक्त पुरस्कार प्राप्त गरेको जोशीले जानकारी दिए।

शहरी क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएको युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार प्रदान गरेको हो।

पुरस्कार पाएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक कला, संस्कृति, सम्पदा, सांस्कृतिक धरोहर एवं परम्पराको संरक्षणसँगै विकासमा पुर्याएको योगदानले पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै यसले आफूलाई अझै जिम्मेवार बनाउँदै सम्पदा संरक्षणको अभियानमा थप प्रेरणा दिएको बताए।
लोपोन्मुख अवस्थामा पुगेका, वर्षौँदेखि बन्द भएका मध्यपुरथिमिका कला, संस्कृति, सांस्कृतिक परम्पराको जगेर्ना गर्नेदेखि पुरिएका, भत्किएका, जीर्ण भएका ऐतिहासिक सम्पदा संरक्षण अभियानको नगरप्रमुख श्रेष्ठले नेतृत्व गरेका थए। ‘हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि मध्यपुरथिमिभित्रका पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुई उद्यान पुनःनिर्माण एवं जीर्णोद्वार गरेका छौँ, अन्य सम्पदाको संरक्षण तथा जीर्णोद्धार पनि भइरहेको छ,’ उनले भने, ‘यो पुरस्कारले मसँगै सिङ्गो नगरपालिकाको टिमलाई थप जिम्मेवार बनाएको छ।’

यो पुरस्कारले मध्यपुरथिमि नगरपालिका मात्रै नभई विश्वमा सिङ्गो नेपालकै नाम राख्न सफल भएको बताउँदै उनले सम्पदा संरक्षण अभियानलाई अझै शसक्तरूपमा लैजाने बताए। मध्यपुरथिमि नगरपालिकाले सम्पदा संरक्षणसँगै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सम्पदा एवं परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने, नगरका प्रत्येक सम्पदास्थल र परम्परागत बस्तीमा पुग्ने गरी पदमार्ग निर्माण, रात्रिकालीन पर्यटनको विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित पार्ने परम्परागत सांस्कृतिक पहिचानलाई जीवन्तरूपमा प्रस्तुत गर्ने गरी नगरपालिका अगाडि बढेको छ।

 

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : २८ बजे