१६ पुस ०७७, (रासस÷सिन्ह्वा) ः भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २ सय ९९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ७ सय ३८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ६० हजार २ सय ८० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५७ हजार ६ सय ६५ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६ सय ७७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र २१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।
सरकारले देशका विभिन्न भागमा कोरोना परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १७ करोड २० लाख १८ हजार ४९ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।
भारतमा बुधबार एकै दिनमा ११ लाख २७ हजार २ सय ४४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताइएको थियो ।
प्रतिक्रिया