२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरद्वारा ट्राफिकलाई रबर कोन हस्तान्तरण


२० पुस २०७७, सोमबार  

0
Shares

२० पुस, ०७७ ललितपुर । जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरी महाशाखालाई रबर कोन हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई २०० थान रबर कोन, एक सय थान डण्डी र ३० थान ह्वील लक हस्तान्तरण गरेका हुन् ।
बढ्दो दुर्घटना घटाउन धोबीघाट, एकान्तकुना, जावलाखेल, कुसुन्तीलगायतका क्षेत्रमा सोमबार देखि ती सामग्री व्यवस्थितरुपमा राखिने महर्जनले बताए ।
उनले भने, ‘यस्ता घटना न्यूनीकरण गर्ने जिम्मा महानगरपालिकाको रहेको हुँदा विद्यालय तहका बालबालिकालाई ट्राफिक नियमबारे अध्ययन तथा अध्यापनसमेत गराउने भएका छाँै, आगामी माघ महिनाभित्रमा ललितपुरको मुटु मानिने लगनखेल बजार क्षेत्र सुधार गर्ने भएका छाँै ।’

यसैगरी महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि गराउन छरिएर रहेका तारलाई मुठा पार्ने, २४सै घण्टा ट्राफिक जाम नियन्त्रण गर्न नगर प्रहरीलाई बस्ने ठाउँको व्यवस्थापन गरिदिने र महानगरपालिकाको चक्रपथ क्षेत्रमा पर्ने ७.९ किलोमिटर सडकमा हुने दुर्घटना हटाउन सडक बत्तीलगायतका आवश्यक वस्तुको व्यवस्थापनसमेत गर्ने महर्जनले जानकारी गराए ।

उपरीक्षक भट्टराईले भीडभाड बढी हुने स्थानमा महानगरपालिकाका नगर प्रहरीलाई तदारुकताका साथ गर्न आग्रह गरे । उनले भने, ‘सानेपा क्षेत्रमा हुने दुर्घटना हटाउन आफूहरुले सडक बत्ती जडानको काम गरिरहेका छाँै भने बी एण्ड बी आसपासका क्षेत्रमा सडक बत्ती जडान गर्न समन्वय भइरहेको छ ।’ महानगरपालिकाले आफूहरुलाई गरेको सहयोगको मूल्याङ्कन गर्दै त्यसले प्रतिफल दिने गरी काम गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
सामान खरिदमा महानगरपालिकाले करिब रु पाँच लाख खर्चिएको जिन्सी शाखाले जनाएको छ । महानगरपालिकाले हिजोदेखि आफ्ना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउने उद्देश्यका साथ १५ दिने तालीम शुरु गरेको छ । सो तालीममा एक साता ‘इनडोर’ र अर्काे एक साता ‘आउटडोर’ बारेमा जानकारी प्रदान गरिने बताइएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ४९ बजे