११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सम्पदा क्षेत्रमा उपभोक्ता समितिका कामको अध्ययन गर्न समिति


२७ पुस २०७७, सोमबार  

0
Shares


२७ पुस ०७७, काठमाडौं । उपभोक्ता समितिमार्फत सम्पदा क्षेत्रको सडक निर्माणका लागि पेश्की दिएको एक दशक पुग्न लाग्दा पनि काम नभएपछि वास्तविक अवस्था बुझ्न अध्ययन समिति गठन गरिएको छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आर्थिक वर्ष २०६९/०७० मा उपभोक्ता समितिमार्फत इँटा एवं ढुङ्गा छपाइ गर्नेगरी १९ नं वडामा स्वीकृत गरेका तीन वटा कार्यक्रम अझै अलपत्र छ । आठ वर्षदेखि उपभोक्ता समितिका काम अलपत्र भएपछि वास्तविकता पत्ता लगाउन महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना शाक्यको संयोजकत्वमा समिति गठन गरिएको कार्यक्रम प्रमुख रोशन शाक्यले जानकारी दिए ।

इन्द्रसभादेखि सतु शाहीको घरसम्म ढुङ्गा छपाइ गर्ने, बञ्जाहिटीमा इँटा छपाइ र मेढुङ्गा मार्गमा ढुङ्गा छपाइ गर्ने काम उपभोक्ता समितिमार्फत गर्ने गरी स्वीकृत भएको थियो । १७, १५ र सात लाखका यी तीन योजना आठ वर्षसम्म सम्पन्न नभएपछि वडालेसमेत विकास निर्माणका काम गर्न नपाएको वडाध्यक्ष शशिलाल श्रेष्ठले बताए।

भूकम्पलेसमेत असर गरेपछि काम नभएर अलपत्र भएकामा वडावासीले पनि खोजी गर्न थालेका थिए । पछिल्लो समय वडा नं १९ का नागरिक मञ्चले वर्षौंदेखि अलपत्र बनेको योजनाका बारेमा उजुरी गरेपछि कार्यक्रमको मूल समितिले वास्तविकता पत्ता लगाउने उद्देश्यले अध्ययन समिति गठन गरेको हो । मञ्चका अध्यक्ष सुमन खड्गी उपभोक्ता समितिका नाममा बजेट ल्याउने र काम नगर्ने प्रवृत्ति बढ्न थालेको बताउँछन् । अध्ययन समितिको सदस्य सचिवसमेत रहेका इञ्जिनीयर अमित वज्राचार्य स्थलगत अध्ययन गरी फाइल सूक्ष्म अध्ययनको काम भइरहेको बताउँछन् ।

अध्ययन समितिमा महानगरका कानून अधिकृत देवीकुमार तिमल्सिना, लेखा अधिकृत नानीशोभा डङ्गोल सदस्य रहेका छन् । इञ्जिनीयर वज्राचार्य सदस्य सचिव रहेका छन् । तीनवटै उपभोक्ता समितिले पहिलो किस्ता लगेर दोस्रो किस्ता फछ्र्यौट गरेका छैनन् । कार्यक्रमले दिएको बजेटमा उपभोक्ता समितिको तर्फबाट १५ प्रतिशत थप गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  २ : ११ बजे