७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित




२५ चैत ०७७, काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टीले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरेको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ । न्यायिक अनुमतिबिना नै गोपनीयताको अधिकारमा हस्तक्षेप गर्न मिल्ने फराकिलो र अस्पष्ट प्रावधान समावेश गरिएको नेपाल विशेष सेवा विधेयक संसद्को माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन रहेको अवस्थामा कानूनी सुरक्षाबिना नै व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना र अभिलेख सङ्कलन गर्ने जस्ता अधिकार दिने प्रावधान विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।

यस्तै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानसहित मिडियासम्बन्धी विभिन्न विधेयक संसद्मा विचाराधीन रहेको तथा कतिपय पत्रकारलाई गलत सूचना फैलाएको र सरकारको आलोचना गरेकामा पक्राउ गरिएको औँल्याइएको छ । अधिकारवादीको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा बलले हिरासतमा लिने, प्रदर्शनकारीलाई तितरबितर पार्ने कार्य भएको प्रतिवेदनमा भनिएको छ । विभिन्न स्थानमा भएका घटनाको जवाफदेहिताको माग गर्दै भएका प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरिएको तथा महामारीको अवधिमा देशभर लागू भएको बन्दाबन्दी कार्यान्वयन गराउन पनि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरेको एमनेस्टीको प्रतिवेदनमा जनाइएको छ ।

२५ चैत ०७७, काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज बुधबार एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।
महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १ सय २२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिएका छन् ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताएका छन् । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको ४९ पदका लागि १ सय ५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएको छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी छन् । प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।
महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।
नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो । विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । विसं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : ५६ बजे