३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धुलिखेल र बनेपाको शैक्षिक संस्था पनि बन्द




७ वैशाख ०७८, बनेपा । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था बुधबारदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ । जिल्लास्थित कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले यो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको यस बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । “दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो”, पोखरेलले भने । उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकको निर्णय पालना गरे नगरेकोसमेत डिसिएमसीले अनुगमन गर्ने जनाइएको छ ।
कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले सोमबार नै देशभरका २५ शहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई शहर बनेपा र धुलिखेल पनि थिए तर, यहाँका शैक्षिक संस्था आज मंगलबार निर्वाध सञ्चालनमा आए । बनेपा नगरमा ३१ सामुदायिक र ४० निजी तथा धुलिखेल नगरमा २६ सामुदायिक विद्यालय तथा ११ निजी विद्यालय सञ्चालनमा छन् । बनेपाको तीन विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ ।

यसअघि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय एकैसाथ बन्द गरिएको थियो । करिब ११ महिनापछि अर्थात् माघबाट मात्रै पूर्णरुपमा भौतिक उपस्थितिमा मात्रै कक्षा शुरु गरिएको थियो ।
काभ्रेपलाञ्चोकमा पछिल्लो समय कोरोना सङ्क्रमण दर उकालो लागिरहेको छ । हिजो नौ र आज छ सङ्क्रमित थपिएपछि मङ्गलबार साँझसम्म जिल्लामा हाल १८ पुरुषसहित ३८ कोरोना सङ्क्रमित छन् । केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४ सयभन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने १४ महिलासहित ४५ को मृत्यु भएको छ । १३ स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा हाल १४ सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ४४ बजे