१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट हेटौंडा जाने भीमफेदी सडक बन्द



१० वैशाख ०७८, हेटौडा । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डअन्र्तगत सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक बन्द गरिएको छ ।
आज शुक्रबार बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जानकारी दिएको छ । यो सडकखण्ड बन्द भएपछि निजी कार, जिप र मोटरसाइकललाई कान्तिराजपथ हुँदै काठमाडौँतर्फ जाने रुटलाई अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । आज बिहानैदेखि ती क्षेत्रबाट ललितपुरको भट्टेडाँडा हुँदै सवारी साधनहरु काठमाडौँतर्फ प्रस्थान गरेको उनले बताएका छन् ।
भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा शुक्रबार बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडा–काठमाडौँतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडक खण्डको काठमाडौँको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौँ–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले बताए ।
उनका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ता अघिदेखि फाखेल सडकखण्डबाट काठमाडौँतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो ।
वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ०३ बजे