१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लगनखेलमा रातो मच्छिन्द्रनाथको महास्नान




१५ वैशाख ०७७, लगनखेल (रासस) : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको आज बुधबार महास्नान ललितपुरको लगनखेल सम्पन्न भएको छ ।
प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो साढे पाँच बजे विधिपूर्वक तःबहालको मन्दिरबाट बाहिर झिकेर साइतअनुसार साँझ सवा ६ बजे महास्नान गराइएको भएको पुजारी मोतिरत्न बज्राचार्यले बताएका छन् ।
“महास्नानका क्रममा मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काएर विभिन्न तीर्थका जल अर्पण गर्नाका साथै पञ्चामृत, फलफूल, घ्यू, सखर, दूध आदि चढाइएको छ”, बज्राचार्यले भने, “आजकै दिनमा रथ निर्माणका लागि पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठमा गएर दुईजना मानिसले चार खम्बासमेत गाड्नेछन् ।” भने, ‘मुलुकमा दिनानुदिन बढ्दै गएको दोस्रो लहरको कारोना कहरलाई ध्यानमा राखी हामीले यसपटक छिट्टै लोकेश्वरलाई मन्दिर लैजाने तयारी गरिरहेका छाँै ।’ महास्नानका दिन राति मच्छिन्द्रनाथलाई कसैले नदेख्ने गरी मन्दिर लानुपर्ने चलन रहँदा यसपटक भने ८ देखि ९ बजे नै लगिने उनको भनाइ छ ।
काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ, यसैगरी पाटनमा पनि रातो मच्छिन्द्रनाथ रथजात्राको उत्तिनै ठूलो महत्व रहेको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ । रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न दुई वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका तीनै शहरका मानिसका साथै विदेशी पर्यटकसमेत नेपाल आउने गर्थे तर गत वर्षबाट मुलुकमा देखिएको कोभिड त्रासका कारण रथजात्रामा सहभागी हुन असहज भयो ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउँदै आएका छन् । मच्छिन्द्रनाथ पूजा तथा रेखदेखका लागि ३१ पानेजु अर्थात् पुजारी गठन भइरहेका छन् । लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, करुणामय तथा लाकेश्वर अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भइरहेको बुझाइ छ ।
नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्लले पहिलोपटक रातो मच्छिन्द्रनाथको महास्नान गर्ने चलन चलाएका पाटनका सूर्यमान डङ्गोलले जानकारी दिएका छन् । उनले भने, “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का स्वरुपमा पुज्ने गर्छन् ।”

पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा लोकेश्वरको रथ ३२ हात ४८ फिट अग्लो निर्माण गर्ने गरिन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा राजा बरदेवले बनाउने चलन चलाएका पाटनवासीको भनाइ छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ४१ बजे