१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सोमबार काभ्रेमा १०६ जना कोरोना संक्रमित




२१ वैशाख ०७८, काभ्रेपलाञ्चोक । काभ्रेमामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भएको छ । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना सङ्क्रमण थियो ।
जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । हाल जिल्लाका कूल ५५५ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १७७, पनौतीमा १३२, धुलिखेलमा १२९, पाँचखालमा ४७, नमोबुद्धमा २१, मण्डनदेउपुरमा १६ तथा रोशी गाउँपालिकामा सात, चौँरीदेउरालीमा तीन, तेमालमा चार र भुम्लु छ, खानीखोलामा दुई, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी बनेपा नगरमा ३१ दशमलव ८९ प्रतिशत सङ्क्रमित रहेका छन् ।
अहिलेसम्म जिल्लाका ५० कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्लास्थित कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । “सङ्क्रमण समुदायमा फैलिएकाले दिनानुदिन सङ्ख्या बढ्ने आँकलन गरिएको केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । “कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने । केही दिनदेखि सङ्क्रमणदर दोब्बर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले प्रमुख शहरलगायत दुई राष्ट्रिय राजमार्गमा सिमाङ्कन गरी सोमबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारको कोरोना ‘रेड जोन’का २२ जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि हो ।
कोरोना सङ्क्रमणदर बढ्दै गएपछि जिल्लाको चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएका छन् । १३ तहमध्ये बाँकी तहले पनि आइसोलेशन व्यवस्थित गर्दैछन् । केन्द्रले हप्ताअघि सबै तहलाई अक्सिजनको थप सुविधासहित आइसोलेशनलाई पूर्ववत् अवस्थामा राख्न आग्रह गरे पनि कसैले चासो दिएका थिएनन् । केही दिनदेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पाँचखाल नगरले गत शुक्रबार १५, बनेपा नगरले आइतबार ५० तथा नमोबुद्ध नगर र रोशी गाउँपालिकाले सोमबारदेखि संयुक्तरूपमा पछि २५ शय्या थप्ने गरी नमोबुद्धको भकुण्डेमा २५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छन् ।
बनेपाले भने ५० मध्ये चार शय्यामा मात्रै हाल अक्सिजन सेवा उपलब्ध गराइएको नगर उपप्रमुख रेखा दाहालले जानकारी दिइन् । पनौती र धुलिखेल नगरमा केही दिनभित्रै आइसोलेशन सञ्चालनमा ल्याउने जनाइएको छ । दोस्रो लहरको सङ्क्रमणको तीन साता बितिसक्दा काभ्रेपलाञ्चोकमा पनि नौ स्थानीय तहले आइसोलेशन व्यवस्थापनमा आलटाल गरिरहेको देखिन्छ । बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालले भने हप्ताअघि नै आइसोलेशन व्यवस्थित गरी सेवा दिइरहेका छन् ।

सम्भावित जोखिमलाई मध्यजर गर्दै आइसोलेशन व्यवस्थित गर्नुपर्नेमा सङ्क्रमित सङ्ख्या न्यून रहेको जनाउँदै आठ तहले बेवास्ता गरेका छन् । “दुई जना त सङ्क्रमित छन्, आइसोलेशन बनाउँदै जाउँला नि”, खोनीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने । गत वर्ष काभ्रेपलाञ्चोकका सबै स्थानीय तह सबैले आवश्यकताअनुसार क्वारेन्टिन निर्माण गरेका थिए । बनेपा र धुलिखेल नगरले ५० शय्या, पाँचखालले सात, पनौतीले छ र नमोबुद्ध नगरले छ शय्याको आइसोलेशन कक्ष व्यवस्थित गरेका थिए । रासस

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ३३ बजे