१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भार थालियो



२२ वैशाख ०७८, ललितपुर । महास्नान गरेर गुप्तबासमा राखिएको ललितपुरको रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको काम थालिएको छ ।

गएको बैशाख १५ गते महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएकोमा हिजो मूर्तिलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको कार्य थालिएको पुजारी कपिल बज्राचार्यले बताए । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन महास्नान गरेर रातो मच्छिन्द्रनाथलाई ७ दिनसम्म गुप्तबासमा राख्ने गरिन्छ । बज्राचार्यका अनुसार मूर्तिलाई मर्मत सम्भार सकाएर आउँदो आइतबारदेखि रंगरोगनको काम थालिनेछ ।

यसपालि रातो मच्छिन्द्रनाथलाई २९ गते रथारोहण गरेर जेठ १ गतेदेखि रथयात्रा गरिनुपर्ने पात्रोमा उल्लेख गरिएको छ । गएको वर्ष कोरोना सङ्क्रमण जोखिमका बीच स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गरिएकोमा यो वर्ष पनि त्यसरी नै रथयात्रा गर्नको लागि तयारी थालिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ निर्माणको काम ५० प्रतिशत सकिएको छ । मच्छिन्द्रनाथको रथ निर्माण ५० प्रतिशत सकिएको रथ निमार्णमा संलग्न दिलकुमार बाराहीले बताए । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बीच स्वास्थ्य मापदण्ड पालना गरेर पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको हो । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ निर्माण गएको बिहीबार थालिएको हो ।

यसैबीच दोलखाको रातो मच्छिन्द्रनाथको यात्रा हिजो सकिएको छ । दोलखाको रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेर दोलखाको विभिन्न क्षेत्रमा तानिने परम्परा भएपनि यसवर्ष कोरोना महामारीका कारण खटमा राखेर धार्मिक विधि पूरा गरिएको हो । खटयात्रा पूरा गरेर मूर्तिलाई हिजो नै डोकलुङ्गा टोलमा रहेको मन्दिरमा भित्र्याइएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ५४ बजे