५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल पक्षले माग पूरा गर्न दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम



३० वैशाख ०७८, काठमाडौँ । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार दिउँसो चार बजेसम्मको समयको समय दिएको छ । त्यतिञ्जेल वातावरण नबने गम्भीर कदम चाल्ने निर्णय उसले गरेको छ।
बिहीबार दिउँसो बसेको यो पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। स्थायी कमिटी सदस्य रघुजी पन्तले तलदेखि माथिसम्मका पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार हुनुपर्ने बताए। त्यसो भएमा बाँकी विषयमा छलफल भएर पार्टी एकतावद्ध हुनसक्ने उनले बताए।
यी हुन् नेपाल पक्षका माग
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।
२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।
३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।
४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : ०६ बजे