२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग




४ जेठ ०७८, काठमाडौं । काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।
सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिएका छन् ।
नगरपालिकाका प्रमुख अधिकारीले नगरपालिकालाई प्राप्त भएको यस मेसिन सोमबारै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्नुभएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । यस मेसिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर नबगरपालिकाले स्वास्थ्य सामग्री सङ्कलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ ।
यस स्वास्थ्य केन्द्रका लागि केही दिन पहिले सेभ द चिल्डेन संस्थाले रु छ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सामग्री उपप्रमुख ज्ञानमाया डङ्गोलमार्फत अस्पताललाई सहयोग गरेको हो । टोखामा हाल पाँच हजार ६९५ कोरोना सङ्क्रमित देखिएका छन् । तीमध्ये ९०५ सक्रिय सङ्क्रमित रहेको सो नगरपालिकाले जनाएको छ । टोखाले हालसम्म छ हजार ७४५ पिसिआर परीक्षण र एक हजार १९७ एन्टिजेन परीक्षण गरिसकेको छ । टोखामा हालसम्म कोरोनाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १२ : ०० बजे