१३ जेठ ०७८, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’मा बस्नु स्वस्थकर नहुने भन्दै कोरोना संक्रमितलाई महानगरले सञ्चालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यवहारिक कठिनाई हुँदाहुँदै व्यपस्थापनमा अप्ठ्यारो झेलेर होम आइसोलेसनमा बस्नु संक्रमित स्वयम, परिवार र समुदायका लगि समेत स्वस्थकर हुँदैन।’
कोभिडको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा संक्रमितलाई लक्षित गरेर ललितपुर महानगरले दुई वटा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। महानगरले वडा नं २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयूसहितको ५० शय्याको आइसोलेसन सेन्टर संचालन गरेको छ। त्यसैगरी वडा नं ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा संचालन गरिएको एक सय १० शय्याको आइसोलेन सेन्टरमा पनि एचडीयू लगायत अन्य स्वास्थ्य सुविधा थप गर्ने महानगरले तयारी गरेको छ।
प्रतिक्रिया