४ असार ०७८, ललितपुर । श्रीमान श्रीमतीको माया पवित्र हुन्छ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्छन् । एकलाई दुःख पर्दा अर्काको मन कटक्क खाने गर्दछ । दुई बीचमा कुनै एकको मृत्यु भएमा संसारै फाटेको, कुनै जोडि ढुकुर छुटेको जस्तो महसुस हुन्छ ।
यस्तै ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एउटा त्यस्तै घटना घटेको छ
उपचाररत बिरामी श्रीमानको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी हुन् ।
क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी थिइन् । तर उपचारको क्रममा बिहीबार राति श्रीमानको मृत्यु भएपछि अस्पतालकै बाथरुमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेकी हुन् । उनको शव शुक्रबार बिहान फेला परेको छ ।
ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा. बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताए ।
श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया