१२ असार ०७८, इमाडोल । महालक्ष्मी नगरपालिकाले २५ जना उद्यमीलाई व्याज नलाग्ने गरी पैसा उपलव्ध गराएको छ ।
शुक्रबार नगरप्रमुख रामेश्वर श्रेष्ठले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तरगत छनौट भएका २५ जना उद्यमीहरूलाई र्निव्याजी बिउ पुँजी वितरण गरेको हो ।
महालक्ष्मी नगरपालिकाले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तरगत पहिलो चरणमा कृषि, पशु पालन, पर्यटन, सिलाई–कटाई, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्न चाहने २५ जना उद्यमीहरूलाई नगरपालिकाले जम्मा ३५ लाख निर्ब्याजी बिउ पुँजी उपलब्ध गराएको हो ।
नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तरगत जम्मा ८८ उद्यमीहरूको निवेदन परेकोमा पुँजी लगानी सीमा, आर्थिक अवस्था, उद्यमसँग सम्बन्धित सीप, रोजगारी सृजना गर्ने क्षमता, कृषि, पर्यटन र हस्तकला सम्बन्धी उद्यमका आधारमा मूल्याङ्कन गरी पहिलो चरणमा २५ जना उद्यमीहरू छनोट भएका हुन् । छनोट भएका उद्यमीहरूलाई नगरप्रमुखले चेक र व्यवसायको साइन बोर्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले छनोट भएका उद्यमीहरूलाई थप उत्साहका साथ व्यवसाय सञ्चालन गर्न प्रेरित गर्दै, नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममार्फत नगरभित्रका उद्यमीहरूलाई आगामी दिनमा प्रविधि हस्तान्तरण, बजारीकरण र व्यवसाय स्तरोन्नतीमा थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै नगर उपप्रमुख श्री निर्मला थापाले छनोट भएका उद्यमीहरूलाई शुभकामना दिदै, उनीहरू भावि उद्यमीहरूका लागि प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिइन् ।
उपस्थित उद्यमीहरूलाई प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमका विविध पक्षमा धारणा राखेका थिए ।
नगर उपप्रमुख श्री निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपाने र प्रमुख शिक्षा अधिकृत लगायत नगरपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया