२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको गोदामचौरको मन्दिरमा दलितलाई पुजारी राख्ने तयारी




३ साउन ०७८, ललितपुर । ललितपुरको गोदामचौरका एक दतित समुदायका पुरुषलाई निर्माणाधिन मन्दिरको पुजारी राख्ने तयारी भएको छ । उनलाई जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ ।
ललितपुरको गोदावरी नगरपालिका १ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो ।
सनातन गोरक्ष राष्ट्र नेपालले शनिबार गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरे ।
पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए । “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ”, उनले भने ।

पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेका अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गरे ।
क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताएका थिए । जातमा कोही पनि ठूलो र सानो नहुने खड्काको भनाइ थियो ।
विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलित मात्र नभई हरेक समुदायमा हुने विभेदविरुद्ध युवा अगाडि बढ्नुपर्ने बताए ।
सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले सीप र कलाको धनी दलित समुदायलाई राम्रो व्यवहार गरेमा देशको विकासले गति लिने धारणा राखेका थिए । विसं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपालले विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाको भनाई थियो ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ५७ बजे