८ साउन ०७८,काठमाडौं । काठमाडौंको जोरपाटीबाट २ केजीभन्दा धेरै सुन नगद विभिन्न बैंकको चेकलगायत सरसामान सहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भएका ३३ वर्षीय सरोज लामा लगायत ४ जनालाई २ केजीभन्दा धेरै बिस्कुट आकारको सुन जस्तो देखिने पहेँलो वस्तु लगायतका सामानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको डेरा कोठामा सुन जस्तो देखिने वस्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा सुन जस्तो देखिने बिस्कुट आकारको १ केजी गोल्ड लेखेको १ थान वस्तु, सुन जस्तो देखिने ५० ग्राम लेखिएको १४ थान चुरा, प्रभु बैंकको ३ लाखको चेक १ थान, नेपाल बङलादेश लिमिटेड शाखाको १ थान चेक, नगद २० हजार २ सय ५० रुपैयाँ, ५ थान मोबाईल, १ थान टुल बक्स, १ थान स्क्रु डाईभर, ६ थान सुनको बिल भरपाई लगायतका कागजात फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
८ श्रावण २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया